कञ्चनपुरमा विशाल सामुदायिक वनको १९ औँ साधारण सभा सम्पन्न, १ करोड २४ लाख बढीको बजेट सार्वजनिक
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीस्थित विशाल सामुदायिक वन उपभोक्ता समूहको १९ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। असोज ३१ गते शनिबारका दिन कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक वनले विगतदेखि नै जैविक विविधता संरक्षण, वनको वृद्धि विकास र वन्यजन्तुको प्राकृतिक बासस्थान सुधारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। निरन्तरको संरक्षण प्रयासकै परिणाम स्वरूप पछिल्लो समय वन क्षेत्रमा हरियाली बढ्नुका साथै वन्यजन्तुहरूको आउजाउ र उपस्थितिमा समेत वृद्धि भएको जनाइएको छ।
कार्यक्रमका सभापति तथा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शुचित्र शाहले वनको संरक्षण, दिगो व्यवस्थापन र विकासका लागि आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराएका छन्। उनका अनुसार वन डढेलो रोकथामका लागि फायरलाइन निर्माण, झाडी सफाइ, विजयशाल प्लान्ट स्थापना, भूक्षय नियन्त्रण तथा वन हेरालु र कर्मचारीहरूको बीमाजस्ता महत्त्वपूर्ण कार्यहरूलाई प्राथमिकता दिइनेछ। यसका साथै स्थानीय कला-संस्कृति र खेलकुदको प्रवर्द्धन गर्ने, वन्यजन्तुबाट हुने क्षति राहतका लागि ‘हानीनोक्सानी कोष’ खडा गर्ने तथा विशेष गरी विपन्न, महिला, दलित र आदिवासी जनजाति उपभोक्ताहरूको आर्थिक-सामाजिक उत्थानमा लक्षित कार्यक्रमहरू सञ्चालन गरिने योजना प्रस्तुत गरिएको छ। वनमा आश्रित सम्पूर्ण उपभोक्ताहरूको हकहित रक्षा गर्दै दिगो वन व्यवस्थापनमा संस्था प्रतिबद्ध रहेको अध्यक्ष शाहले बताएका छन्।
उत्तरी चुरे क्षेत्रको पर्यावरण जोगाउन विशाल सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहन बस्नेतले संरक्षणका साथसाथै उपभोक्ताको हित प्रवर्द्धनका गतिविधिहरूलाई अझ सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा उपस्थित सब डिभिजन वन कार्यालय वाणीका वन अधिकृत निरञ्जन कडेलले प्रचलित वन ऐन र कानुनको परिधिमा रहेर वन विकासका गतिविधिहरू सञ्चालन गर्नुपर्ने कुरा बताए। सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्टले पनि वन जोगाउने मुख्य दायित्वसँगै उपभोक्ताको दैनिकी र जीविकोपार्जनमा सुधार ल्याउने प्रकृतिका कामकाजलाई अगाडि बढाउन सुझाव दिएका थिए।
उक्त साधारण सभाको अवसरमा वनको निरन्तर हेरचाह, वृद्धि र विकासका लागि अहोरात्र खटिने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। साधारण सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १ करोड २४ लाख ८१ हजार ९८६ रुपैयाँ बराबरको अनुमानित बजेट सर्वसम्मतिले प्रस्तुत तथा पारित गरेको छ। स्थानीय जनप्रतिनिधि, संरक्षणकर्मी, वन अधिकृत तथा ठुलो सङ्ख्यामा उपभोक्ताहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको सभापतित्वमा विशाल सामुदायिक वनका अध्यक्ष सुचित्र शाह थिए भने प्रमुख अतिथिका रूपमा कृष्णपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन बहादुर बस्नेत रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिहरूतर्फ सब डिभिजन वन कार्यालयका वन अधिकृत निरञ्जन कँडेल, सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष नरेश राज भट्ट र कृष्णपुर न.पा. वडा नं. १ का वडा सदस्य एवं भूतपूर्व अध्यक्ष मदन बहादुर थापाको आतिथ्यता रहेको थियो।
एकेन्द्र राउतले सञ्चालन गरेको कार्यक्रममा अन्य अतिथिहरूतर्फ छिमेकी सा.व.का प्रतिनिधिहरू, अस्थायी प्रहरी पोस्ट पहरियाका भवानी दत्त भट्ट, कालिका मा.वि. वि.व्य.स. अध्यक्ष धन बहादुर बोहरा, एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र रोकाया, बेलपत्रि ग्रामीण वि. सहकारी संस्थाका अध्यक्ष बालकृष्ण खनाल, विशाल सा.व.का भूतपूर्व अध्यक्षहरू जहर सिंह रावत र सुशिला शाह, लेखा, खेलकुद ,अनुगमन समितिका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, संरक्षणकर्मी एवं स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।
The post कञ्चनपुरमा विशाल सामुदायिक वनको १९ औँ साधारण सभा सम्पन्न, १ करोड २४ लाख बढीको बजेट सार्वजनिक appeared first on ✍️कञ्चन मिडिया📸.
