हरियाली सामुदायिक वनको २०औँ साधारण सभा: पर्यापर्यटन र वन संरक्षणका नयाँ योजना पारित
गुलरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५, गुलरियामा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारण सभा विभिन्न संरक्षणकर्मी, स्थानीय प्रतिनिधि र उपभोक्ताहरूको बाक्लो उपस्थितिबिच भव्य रूपमा सम्पन्न भएको छ। वि.सं. २०५६ मा संरक्षण समूह गठन भई २०६५ सालमा औपचारिक रूपमा दर्ता भएको यस वनले हाल करिब ५ सय हेक्टर क्षेत्रफल ओगटेको छ। स्थापना कालदेखि नै यस समूहले जैविक विविधता, वन्यजन्तुको सुरक्षा, वातावरणीय सन्तुलन र आम उपभोक्ताहरूको हकहितका लागि विभिन्न कल्याणकारी तथा संरक्षणमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
उक्त साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष नित्यानन्द जेठाराले गत आर्थिक वर्ष २०८२/०८३ मा भएका विविध उपलब्धिहरूबारे प्रकाश पार्नुभएको थियो। वन संरक्षणलाई प्रभावकारी बनाउन वन हेरालु परिचालन, रात्रिकालीन गस्ती, तारबार निर्माण, अग्नि रेखा तयार गर्ने तथा २ हेक्टर क्षेत्रमा झाडी सफाई गर्ने जस्ता कार्यहरू सम्पन्न गरिएका छन्। यसका साथै वनमा आधारित परिवारहरूलाई विद्युतीय चुलो वितरण, विपन्न बालबालिकालाई शैक्षिक सामग्री, स्थानीय खेलाडीहरूलाई खेलकुद तथा क्रिकेट सामग्री र दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराइएको छ। आयआर्जनका लागि माछापालन र घुम्ती कोषको स्थापना गर्नुका साथै ग्वासी समैजीमा ५० हजार रुपैयाँ सहयोग समेत गरिएको छ। वन संरक्षणमा पुर्याएको उत्कृष्ट योगदानकै कारण यस समूहले प्रतिष्ठित ‘गणेशमान सिंह राष्ट्रिय पुरस्कार’ समेत प्राप्त गरिसकेको छ।
साधारण सभाले आगामी दिनका लागि दिगो वन व्यवस्थापन, पर्यापर्यटनको विकास, नयाँ खेल मैदान निर्माण, वैकल्पिक ऊर्जाको प्रवर्द्धन, बेलकुण्डी १३औँ टोलको अनुमोदन र वन हेरालु घुम्ती कोष स्थापनाजस्ता महत्त्वपूर्ण योजनाहरू पारित गरेको छ। कार्यक्रममा अध्यक्ष जेठाराले विगतमा वैज्ञानिक वन व्यवस्थापनका क्रममा काटिएका र हाल ढलापढा अवस्थामा रहेका काठहरूको बिक्री-वितरणका लागि उचित वातावरण बनाइदिन प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले सामुदायिक वनलाई केवल काठ दाउरामै सीमित नराखी पर्यापर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय काठको माग पूरा गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने आश्वासन दिँदै अन्य वन समूहहरूले पनि हरियालीबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो। यस्तै, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशी र सामुदायिक वन समन्वय समितिका अध्यक्ष एवम् पूर्व प्रदेश सांसद महेश दत्त जोशीले हरियाली वन संरक्षणमा नमुना बनेको बताउँदै काठ बिक्री-वितरण र वन्यजन्तुको उपचारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।
The post हरियाली सामुदायिक वनको २०औँ साधारण सभा: पर्यापर्यटन र वन संरक्षणका नयाँ योजना पारित appeared first on ✍️कञ्चन मिडिया📸.
