इन्डो नेपाल च्याम्पियनसिप तेक्वान्दोमा चम्किलो सफलता, ३ स्वर्ण र १ रजत जित्दै सुदूरपश्चिमको नाम उच्च
कैलाली: सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका तेक्वान्दो खेलाडीहरूले झापाको बिर्तामोडमा सम्पन्न ‘मेची तेक्वान्दो इन्डो-नेपाल च्याम्पियनसिप-२०२६’ मा उत्कृष्ट खेल प्रदर्शन गर्दै चारवटा पदक हात पार्न सफल भएका छन्। २०८३ असोज ९ देखि ११ गतेसम्म चलेको सो प्रतियोगितामा कैलालीका खेलाडीले ३ स्वर्ण र १ रजत पदक जितेर क्षेत्रकै गौरब बढाएका छन्।
प्रतियोगितामा कैलालीका खेलाडीहरूले उच्च आत्मविश्वास, अनुशासन र उत्कृष्ट खेलकौशलको परिचय दिएका थिए। सहभागिता जनाउने क्रममा प्रीति सिंह, दिपा जैसी र डिल्ली राज जोशीले आ-आफ्नो प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भए भने रितिस सिंहले द्वितीय स्थान हासिल गर्दै रजत पदकमा चित्त बुझाए। यो ऐतिहासिक सफलताले सुदूरपश्चिमका लुकेका खेल प्रतिभाहरूलाई राष्ट्रियस्तरमा प्रस्फुटित गराउन ठूलो टेवा पुर्याएको छ।
खेलाडीहरूको यो शानदार उपलब्धि पछाडि उनीहरूको कडा मेहनत, नियमित प्रशिक्षण, प्रशिक्षकको कुशल मार्गदर्शन र अभिभावकहरूको अमूल्य सहयोग मुख्य आधार बनेका छन्। पछिल्लो समय सुदूरपश्चिमबाट विभिन्न खेलहरूमा प्रतिभावान खेलाडीहरू उदाउने क्रम बढेको छ। तेक्वान्दोमा प्राप्त यो नतिजाले ‘अवसर र उचित वातावरण पाएमा सुदूरपश्चिमका खेलाडीहरूले जुनसुकै प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सक्छन्’ भन्ने बलियो सन्देश दिएको छ।
सफलतासँगै प्रशिक्षक योगेन्द्र खोलाउलाले खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै खुसी व्यक्त गरेका छन्। उनले प्राप्त सफलतालाई आगामी दिनका अझ ठूला उपलब्धिहरूको आधार बनाउन खेलाडीहरूमा निरन्तर अभ्यास, उच्च अनुशासन र आत्मविश्वास आवश्यक रहेको औल्याएका छन्। साथै, खेलाडीहरूको क्षमताको दिगो विकासका लागि थप प्रशिक्षण सत्रहरू र धेरैभन्दा धेरै प्रतियोगितात्मक अवसरहरू सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन्।
पदक विजेता तेक्वान्दो खेलाडी प्रिती सिंह, दिपा जैसी, डिल्ली राज जोशी र रितिस सिंहलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उच्च सफलता र उज्ज्वल खेलकुद भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं।
The post इन्डो नेपाल च्याम्पियनसिप तेक्वान्दोमा चम्किलो सफलता, ३ स्वर्ण र १ रजत जित्दै सुदूरपश्चिमको नाम उच्च appeared first on ✍️कञ्चन मिडिया📸.
