September 27, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

हेल्प फर हेप्पिनेस सुदूरपश्चिमको ११औँ वार्षिकोत्सव, सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता

धनगढी । हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले आफ्नो ११औँ वार्षिकोत्सव विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमसहित मनाएको छ। संस्था स्थापना भएको दिनको अवसरमा आइतबार धनगढीस्थित दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गर्दै वार्षिकोत्सव मनाइएको हो।
वार्षिकोत्सवका अवसरमा संस्थाले वर्षभरि सञ्चालन गरेका सामाजिक तथा मानवीय सेवाका गतिविधिको प्रगति विवरणसमेत प्रस्तुत गरेको थियो। संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीका अनुसार शल्यक्रिया तथा रगत अभाव भएका बिरामीका लागि आपत्कालीन रक्त व्यवस्थापनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। उनका अनुसार १६९ जना बिरामीका लागि ३९८ पिन्ट आपत्कालीन रगत व्यवस्थापन गरिएको छ।
त्यस्तै, ११ जना बिरामीलाई औषधि सहयोग, विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन, छाडा पशुचौपायाको उपचार तथा उद्धार, कृषि सम्बन्धी सीपमा आधारित सचेतना, प्राकृतिक प्रकोप तथा विपद्मा सहयोग र ‘ज्ञान बाँडौँ, ज्ञान बढाऔँ’ कार्यक्रमलाई निरन्तरता दिइएको भण्डारीले जानकारी दिए।
संस्थाका अनुसार १३ जनालाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, विपन्न तथा असहायलाई एम्बुलेन्स सेवामा सहयोग, बेवारिसे व्यक्तिको उद्धार तथा पारिवारिक पुनर्मिलन, ३५० पिस निःशुल्क कपडा वितरणलगायतका कामसमेत गरिएको छ। धनगढीको जेन्जी मार्गमा हुने भजन कार्यक्रममा समेत संस्थाले उल्लेखनीय सहभागिता जनाउँदै सहयोग गर्दै आएको जनाइएको छ।
संयोजक भण्डारीले आगामी दिनमा पनि निःस्वार्थ भावनाका साथ सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवस विशेष कार्यक्रममा भट्टले संस्थाले गर्दै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।
यसैबीच, हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरि उत्कृष्ट योगदान पुर्‍याउने आफ्ना सदस्य तथा सामाजिक व्यक्तित्वलाई प्रशंसापत्रसहित सम्मान गरेको छ।
सम्मानित हुनेमा वर्षभरि सबैभन्दा बढी रक्तदान गर्ने इमर्जेन्सी रक्तदाता मोहन बिष्ट, सबैभन्दा बढी रक्तदान तथा रक्त व्यवस्थापनमा सक्रिय संस्थाका सदस्य आशिष केसी र परमानन्द जोशी रहेका छन्।
त्यस्तै, संस्थाका विभिन्न मानवीय, सामाजिक तथा आर्थिक सेवाका अभियानमा अग्रपंक्तिमा रहेर विपन्न, गरिब तथा असहाय वर्गको सेवामा निरन्तर योगदान पुर्‍याउने भीमबहादुर बिष्ट, सोनिया जोशी र दिलेन्द्रप्रसाद जोशीलाई समेत सम्मान गरिएको छ।

The post हेल्प फर हेप्पिनेस सुदूरपश्चिमको ११औँ वार्षिकोत्सव, सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.