कञ्चनपुरको कृष्णपुरमा बन्ने भनिएको करिब डेढ अर्बको टेक्निकल इन्स्टिच्युट निर्माण अनिश्चिततामा, KOICA द्वारा कार्यक्रम खारेज हुने चेतावनी
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, कलुवापुरमा निर्माण गर्ने भनिएको टेक्निकल इन्स्टिच्युट (पोलिटेक्निक इन्स्टिच्युट) को निर्माण कार्य जग्गा प्राविधिक तथा प्रशासनिक अल्झनका कारण अनिश्चित बनेको बुझिएको छ। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले सामाजिक सञ्जालमार्फत यस आयोजनामा देखिएको गम्भीर अवरोधप्रति सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका छन।
कृष्णपुर नगरपालिका–७ स्थित वडा कार्यालय परिसर सँगै रहेको जग्गा इन्स्टिच्युट निर्माणका लागि तय गरिएको थियो। तर, निर्माण कार्य अगाडि बढाउन आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया कानुनी रूपमा अझै अगाडि बढ्न सकेको छैन। यसका लागि शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई जग्गा उपलब्ध गराउन सिफारिस पत्र लेख्नुपर्ने हुन्छ।
नगरपालिकाले १२ महिना अगाडि नै शिक्षा मन्त्रालय र CTEVT मा यससम्बन्धी कागजात पेश गरिसकेको भए पनि शिक्षा मन्त्रालयले गृह मन्त्रालयसँग जग्गा माग गर्ने प्रक्रिया अगाडि नबढाएको नगरप्रमुख ओझाको आरोप छ। बारम्बार मन्त्रालय र CTEVT धाउँदा पनि कुनै सुनुवाई नभएको र सम्बन्धित मन्त्रालयका अधिकारीहरूले फोनसमेत उठाउन छाडेको कुराप्रति नगरप्रमुखले गुनासो गरेका छन।
दाताय निकाय KOICA को चेतावनी र बजेट फिर्ता हुने जोखिम
यस टेक्निकल इन्स्टिच्युटको निर्माणका लागि दातृ निकाय कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को पूर्ण अनुदानमा करिब डेढ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाको प्रारम्भिक डिजाइन र ड्रइङ (Preliminary Design and Drawing) समेत भइसकेको अवस्था छ।
तर, जग्गा प्राप्तिको प्रक्रिया समयमै अगाडि नबढेमा यो अनुदान कार्यक्रम नै खारेज हुने चेतावनी दातृ निकाय KOICA ले मौखिक रूपमा दिइसकेको नगर प्रमुख ओझाले बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै मेयर ओझाले पूर्वमन्त्री एन.पी. साउद परराष्ट्र मन्त्री भएका पालामा भित्रिएको यो ठूलो अनुदानको योजना प्रक्रियागत सुस्तताका कारण बजेट फिर्ता जाने अवस्थामा पुग्नु यस क्षेत्रका लागि ठूलो दुर्भाग्य हुन जानेछ, भन्दै यस बारेमा संघीय सरकारलाई तत्काल गम्भीर बन्न र जग्गा प्राप्तीको बाटो खुलाउन माग समेत गरका छन।
The post कञ्चनपुरको कृष्णपुरमा बन्ने भनिएको करिब डेढ अर्बको टेक्निकल इन्स्टिच्युट निर्माण अनिश्चिततामा, KOICA द्वारा कार्यक्रम खारेज हुने चेतावनी appeared first on ✍️कञ्चन मिडिया📸.
