October 26, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कसरी हेर्न सकिन्छ मोबाइल र टिभीमा एनपीएल

​नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै क्रिकेट प्रेमीहरूमाझ यसका खेलहरू कसरी र कति खर्चमा हेर्न पाइन्छ भन्नेबारे कौतुहलता छाएको छ। यदि तपाईं टेलिभिजनमा खेल हेर्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ—घरको टिभीमा एनपीएल हेर्न कुनै पनि अतिरिक्त शुल्क वा छुट्टै सब्सक्रिप्सन लिनुपर्ने छैन।

​टिभीमा निःशुल्क प्रत्यक्ष प्रसारण

​हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) ले नेपालभित्र एनपीएलको लिनियर टेलिभिजन प्रसारण अधिकार प्राप्त गरेको छ। जसअनुसार नेटटिभी, डिशहोम, भायाटिभी, क्लियर टिभी वा एनटिटिभी जस्ता केबुल, आईपीटिभी तथा टेरेस्टेरियल माध्यमबाट नियमित प्रसारण भइरहेको ‘हिमालय स्पोर्ट्स’ च्यानलमा दर्शकले कुनै अतिरिक्त पैसा नतिरी सबै खेल प्रत्यक्ष हेर्न सक्नेछन्। क्यानलाई १४ करोड ६४ लाख रुपैयाँ बुझाएर अधिकार लिएको हिमालय टिभीले करसहित कुल २१ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरे पनि दर्शकबाट पे-पर-भ्यु नउठाई विज्ञापनबाटै लागत उठाउने रणनीति लिएको छ। दर्शकको सहजताका लागि खेलको प्रसारण नेपाली र मैथिली गरी दुई भाषामा हुनेछ।

​मोबाइल र ओटीटीमा तोकियो ‘सिजन पास’

​टेलिभिजनमा नि:शुल्क भए पनि मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा NetTV को ओटीटी (OTT) एप तथा वेबमार्फत खेल हेर्न भने सब्सक्रिप्सन अनिवार्य गरिएको छ। नेपालभित्रका दर्शकका लागि करसहित रु. ४०० को सिजन पास निर्धारण गरिएको छ।

​विदेशमा रहेका दर्शकका लागि व्यवस्था

  • ​अन्तर्राष्ट्रिय टिभी प्रसारण: स्टार स्पोर्ट्स (Star Sports Select 2 / Select 2 HD) मार्फत हेर्न सकिनेछ।
  • ​ओटीटी (NetTV): विदेशमा रहेका दर्शकले क्षेत्रअनुसारको शुल्क तिर्नुपर्नेछ। खाडी मुलुकका लागि ६०० नेपाली रुपैयाँ (वा ४ अमेरिकी डलर) र अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया आदिका लागि १० अमेरिकी डलर शुल्क तोकिएको छ। नेपालमा रहेका आफन्तले ईसेवा वा खल्तीमार्फत कुपन कोड (भौचर) खरिद गरी विदेशमा पठाउन सक्ने सुविधा पनि उपलब्ध छ।
  • ​भारतमा: NetTV का साथै फ्यानकोड (FanCode) मार्फत टुर पास लिएर हेर्न सकिनेछ।

​डिजिटल टिकेटिङ र क्यानको अपिल

​कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने कुल ३२ वटा खेलको डिजिटल टिकेटिङ अधिकार ईसेवाले ८५ लाख रुपैयाँमा खरिद गरेको छ। प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ।

​नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ‘पाइरेसीलाई नाई भनौँ : नेपाली क्रिकेटलाई समर्थन गरौँ’ भन्ने नाराका साथ अनधिकृत लिङ्कबाट खेल नहेरी आधिकारिक माध्यमबाटै खेल हेर्न आग्रह गरेका छन्। यसरी सङ्कलन हुने आम्दानीले नेपाली क्रिकेटको पूर्वाधार विकास र खेलाडी उत्पादनमा प्रत्यक्ष सहयोग पुग्ने क्यानले जनाएको छ।

हेर्नुहोस् एनपीएल २०२६ को यस्तो छ खेलतालिका:

The post कसरी हेर्न सकिन्छ मोबाइल र टिभीमा एनपीएल appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.