दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोट तयारी तीव्र, १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने
कञ्चनपुर : आगामी मङ्सिर १६ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने भएको प्रतिष्ठित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता को तयारीलाई तिब्रता दिँदै कञ्चनपुर जिल्लामा पनि छनोट खेलहरूको सुत्रपात गरिएको छ। यसै सन्दर्भमा कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा विभिन्न खेल सङ्घका प्रतिनिधि तथा सरोकारवालाहरूसँग महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
दशौँ राष्ट्रिय खेलकुदका लागि कञ्चनपुर जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी मंसिर १७ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने निर्णय आजको बैठकले गरेको छ। प्रतियोगितालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन जिल्ला खेलकुद समितिका विभिन्न हल तथा खेल मैदानहरूमा खेल गतिविधिहरू सञ्चालन गरिनेछन्।
विभिन्न पदाधिकारीहरूलाई संयोजकको जिम्मेवारी
छनोट खेलकुद प्रतियोगितालाई सुव्यवस्थित ढंगले सम्पन्न गर्न आजको बैठकले विभिन्न खेल संघ तथा पदाधिकारीहरूलाई आ–आफ्नो विधाका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ। प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापन र म्यादभित्रै छनोट प्रक्रिया पूरा गर्न संयोजकहरूले आन्तरिक गृहकार्य तथा समन्वय थालिसकेका छन्।
८४० जना खेलाडीहरूको सहभागिता रहने
कञ्चनपुर जिल्ला खेलकुद समितिले दिएको जानकारी अनुसार यसपटकको जिल्ला छनोट प्रतियोगितामा कञ्चनपुर जिल्लाभित्र सक्रिय रहेका २३ वटा खेल सङ्घहरू को सहभागिता रहनेछ। विभिन्न खेल विधाबाट कुल ८४० जना खेलाडीहरू जिल्ला छनोटको लागि प्रतिस्पर्धामा उत्रिनेछन्।
स्थानीयस्तरबाटै प्रतिभावान र उत्कृष्ट खेलाडीहरूलाई छनोट गरी राष्ट्रिय स्तरमा जिल्लाको बलियो उपस्थिति जनाउने उद्देश्यले यो छनोट प्रतियोगिताको आयोजना गरिएको हो। तोकिएको मितिभित्रै सबै खेलविधाहरूका प्रतियोगिता सम्पन्न गर्ने गरी जिल्ला खेलकुद समितिले आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ।
The post दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोट तयारी तीव्र, १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने appeared first on ✍️कञ्चन मिडिया📸.
