November 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

मालिकार्जुन राष्ट्रिय धामको जात्रालाई लक्षित गर्दै दार्चुलाभर सवारी साधन चेकजाँचमा कडाइ

दार्चुला, मंसिर ५। दार्चुलाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल मालिकार्जुन राष्ट्रिय धाममा आगामी मंसिर ७ गते लाग्ने रात्रिकालीन जात्रालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले जिल्लाभर सवारी साधन चेकजाँचमा कडाइ गरेको छ। जात्रामा सहभागी हुने श्रद्धालु भक्तजन, यात्रु तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रहरीले जिल्लाका विभिन्न स्थानमा निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो।

जात्राका समयमा जिल्लाभित्र सवारी साधनको चाप बढ्न सक्ने तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले नियमित चेकजाँचसँगै विशेष निगरानी अभियान सञ्चालन गरिरहेको छ। चेकजाँचका क्रममा सवारी साधनमार्फत मादक पदार्थ तथा अन्य अवैध वस्तुको ओसारपसार भए–नभएको, क्षमताभन्दा बढी यात्रु तथा सामान राखिएको अवस्था (ओभरलोड) र चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको विषयमा विशेष ध्यान दिइएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज भाटका अनुसार मालिकार्जुन धामको रात्रिकालीन जात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सवारी साधनमाथिको चेकजाँचलाई थप प्रभावकारी बनाइएको हो। उहाँका अनुसार जात्रालाई लक्षित गरी जिल्लाभर नियमित निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइनेछ।

प्रहरीले जात्रामा सहभागी हुन आउने श्रद्धालु भक्तजन तथा अन्य यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र कुनै पनि अवैध वस्तुको ओसारपसार नगर्न आग्रह गरेको छ।

मालिकार्जुन राष्ट्रिय धाममा लाग्ने रात्रिकालीन जात्रामा जिल्लाभित्र तथा बाहिरबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने भएकाले सम्भावित दुर्घटना, अवाञ्छित गतिविधि तथा सुरक्षा चुनौती न्यूनीकरण गर्न प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।

The post मालिकार्जुन राष्ट्रिय धामको जात्रालाई लक्षित गर्दै दार्चुलाभर सवारी साधन चेकजाँचमा कडाइ appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.