November 26, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कञ्चनपुरको कृष्णपुरमा २२ बाख्रा बेपत्ता, बीउसम्म नरहेपछि पीडित किसान चिन्तित

कञ्चनपुर। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थित निगाली गाउँका छ-सात परिवारका करिब २२ वटा बाख्रा जङ्गलबाटै बेपत्ता भएका छन्। सधैँजसो जङ्गलमा चराउन लगिएका ती बाख्राहरू गत मङ्सिर ६ गते आइतबारका दिन दिउँसोको समयमा हराएका हुन्।

​विशाल सामुदायिक वन अन्तर्गतको धौलेपानी क्षेत्रमा बाख्रा चराउने क्रममा ती बाख्राहरू एकाएक बेपत्ता भएका हुन्। बाख्रा चराउन गएका गोठालाहरू घाँस काट्न थालेपछि केही पछाडि छुटेका थिए। सोही क्रममा दिउँसोको समयमा एक्कासि २२ वटै बाख्राहरू बेपत्ता भएको उनीहरूले जानकारी दिएका छन् ।

​बाख्रा हराएपछि विगत चार-पाँच दिनदेखि स्थानीयहरूले निरन्तर रूपमा जङ्गल तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन्। तर, लामो समयसम्म खोजतलास गर्दा पनि बाख्राहरूको कुनै अत्तोपत्तो पाउन सकिएको छैन।

​आम्दानी र जीविकोपार्जनको मुख्य स्रोतका रूपमा रहेका बाख्राहरू एकैपटक हराएपछि पीडित किसान परिवारहरू निकै चिन्तित र निराश बनेका छन्। स्थानीय पीडित डिग्रा देवी राउतले आफ्नो घरमा अब बाख्राको बीउसम्म पनि बाँकी नरहेको भन्दै दुःख व्यक्त गरेकी छिन्।

​पीडित परिवारले स्थानीय क्षेत्रका सम्पूर्ण बासिन्दा, सर्वसाधारण तथा सरोकारवालाहरूलाई बाख्राको खोजीमा सहयोग गरिदिन तथा यदि कहीँ कतै ती बाख्राहरू भेटिएमा या देखिएमा निसंकोच मोबाइल नम्बर +977-9743573558 वा +977-9865535916 मा सम्पर्क गरी खबर गरिदिनुहुन हार्दिक अनुरोध समेत गरेका छन्।

The post कञ्चनपुरको कृष्णपुरमा २२ बाख्रा बेपत्ता, बीउसम्म नरहेपछि पीडित किसान चिन्तित appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.