दार्चुलाको प्रसिद्ध शैल्य मालिकार्जुन धार्मिक जात्रा भव्य रूपमा सम्पन्न
दार्चुला ।मंसिर ९।दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडस्थित प्रसिद्ध धार्मिकस्थल शैल्य मालिकार्जुन मन्दिरमा लागेको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक जात्रा भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका अवसरमा लाग्ने उक्त रात्रिकालीन जात्रामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।
जात्रामा दार्चुला जिल्लाका विभिन्न स्थानीय तहका साथै छिमेकी जिल्लाबाट समेत श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरू पुगेका थिए। रातभर मन्दिर परिसरमा धार्मिक गतिविधि, पूजाआजा तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल देखिएको थियो। भक्तजनहरूले भगवान् शैल्य मालिकार्जुनको दर्शन गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा होस् भन्ने कामना गरेका थिए।
स्थानीय धार्मिक विश्वास, मौलिक संस्कृति र परम्पराको पहिचान बोकेको मालिकार्जुन जात्रा सुदूरपश्चिम क्षेत्रकै महत्वपूर्ण धार्मिक उत्सवका रूपमा परिचित छ। यस जात्राले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति र सामाजिक सद्भावलाई समेत जोड्दै आएको छ। यस वर्षको जात्रा पनि भक्तजनहरूको उत्साहपूर्ण सहभागिताका बीच भव्य रूपमा सम्पन्न भएको छ।
The post दार्चुलाको प्रसिद्ध शैल्य मालिकार्जुन धार्मिक जात्रा भव्य रूपमा सम्पन्न appeared first on ✍️कञ्चन मिडिया📸.
