November 23, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

मालिकार्जुन जात्राको सुरक्षा व्यवस्था कडा, हजारौँ भक्तजन आउने अपेक्षा

 

दार्चुला ।मंसिर ७।  दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मडस्थित प्रसिद्ध धार्मिकस्थल श्री शैल्य मालिकार्जुन धाममा आज कात्तिक शुक्ल चतुर्दशीका अवसरमा भव्य रात्रिकालीन धार्मिक जात्रा लाग्दैछ। जात्रालाई लक्षित गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

यस क्षेत्रकै प्रसिद्ध तथा ठूलो धार्मिक जात्राका रूपमा परिचित मालिकार्जुन जात्रामा दार्चुला, बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी भारतको उत्तराखण्डबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। शनिबारदेखि नै मन्दिरमा भक्तजनको चहलपहल बढेको छ।

जात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेका छन्। जात्रा क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ भने मदिरा बिक्रीवितरण तथा सेवन, जुवातास र अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार जात्रालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको छ। साथै आज राति १२ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।

कात्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखर धाममा शिखर पूजन जात्रा सम्पन्न भएपछि चतुर्दशीका दिन मालिकार्जुन मन्दिर मडमा रात्रिकालीन जात्रा लाग्ने परम्परा रहिआएको छ। दमाहा बाजासहित भक्तजनको सहभागिताले जात्रालाई थप विशेष बनाउने गर्दछ।

धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको मालिकार्जुन जात्रामा सहभागी हुन टाढाटाढाबाट भक्तजन आउने क्रम जारी छ। प्रशासनले जात्रालाई मर्यादित र व्यवस्थित बनाउन जारी गरेका सुरक्षा तथा व्यवस्थापनसम्बन्धी निर्णय पालना गर्न सबैमा आग्रह गरेको छ।

The post मालिकार्जुन जात्राको सुरक्षा व्यवस्था कडा, हजारौँ भक्तजन आउने अपेक्षा appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.