November 24, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

डडेलधुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा ‘दिउसेडी’ जाँत सुरु, दर्शनार्थीको उल्लेख्य सहभागिता

डडेल्धुरा — सुदूरपश्चिमकै महाशक्तिपीठ मानिने डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा आज परम्परागत ‘दिउसेडी’ जाँत सुरु भएको छ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार कात्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने यो जाँतलाई स्थानीय बोलीचालीमा ‘देहिजाँत’ भनिन्छ, जसमा पूर्णिमाको रातको जाँतलाई ‘रतेडी’ र भोलिपल्ट दिउँसोको जाँतलाई ‘दिउसेडी’ भन्ने चलन छ।

​अमरगढी नगरपालिका–८ स्थित मन्दिर परिसरमा खनमडा, छचोडा, दुमडा र जिलोडा बस्तीका बासिन्दाको परम्परागत अनुष्ठानपछि औपचारिक रूपमा जाँत अघि बढ्ने क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो। सदरमुकामबाट करिब चार किलोमिटर दूरीमा रहेको रमणीय पहाडी थुम्कोमा अवस्थित यस शक्तिपीठमा सुदूरपश्चिम, कर्णाली र सीमावर्ती भारतीय क्षेत्रबाट समेत हजारौँ श्रद्धालु दर्शन तथा पूजाआराधनाका लागि पुग्ने गर्छन्।

​मन्दिरको उत्पत्तिसँग जोडिएको जनश्रुति निकै रोचक छ। परापूर्वकालमा एक जना साकी समुदायका कृषकले खेत जोत्दा हलोको फालीले शिलामा लागेपछि रगत बगेको र त्यहाँ खान लगिएको खिचडी अर्पण गर्दा रगत थामिएसँगै भगवती प्रकट भएको विश्वास गरिन्छ। त्यही अलौकिक घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा आराधना र जाँत गर्ने परम्परा बसेको जनविश्वास छ। दर्शन र पूजाबाट दैवी विपत्ति टर्ने तथा मनको आकाङ्क्षा पूरा हुने मान्यता श्रद्धालुहरूमा पाइन्छ।

​धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै ग्रामीण भेगका स्थानीय उत्पादनको किनमेल र प्रवर्द्धनका लागि समेत यो जाँत विशेष मानिन्छ। जाँतको रौनक र स्थानीय सहभागितालाई मध्यनजर गर्दै अमरगढी नगरपालिकाले आज पालिकाभर सार्वजनिक बिदा समेत दिएको छ।

The post डडेलधुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा ‘दिउसेडी’ जाँत सुरु, दर्शनार्थीको उल्लेख्य सहभागिता appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.