August 30, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

भोटेकोसी बाढीमा दिवंगत प्रति श्रद्धाञ्जली, पुनर्वासमा गाईजात्रा

धनबहादुर विक/ पुनर्वास, भदौ १३: गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका स्वदेशी तथा विदेशी नागरिकहरूको स्मृतिमा कञ्चनपुरको पुनर्वासमा गाईजात्रा कार्यक्रम आयोजना गरिएको छ।

शनिबार नेवा देय दबु तथा कञ्चन नेवा समाज पुनर्वासको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

‘दिवंगत आत्माको चिरशान्तिको कामना’, ‘तपाईंको स्मृति हाम्रो हृदयमा सधैँ रहनेछ’ लगायतका सन्देश लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर नेवार समुदायका महिला-पुरुषले पुनर्वास नगरपालिका-६ स्थित प्रतिभानगर बजारको परिक्रमा गरेका थिए।

कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको थियो। सहभागीहरू नेवार समुदायको मौलिक भेषभूषामा सहभागी भएका थिए।

कञ्चन नेवा समाज पुनर्वासका अध्यक्ष तिलकुमार श्रेष्ठले विपद्मा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै गाईजात्रा आयोजना गरिएको बताए।

“दुःखको यस घडीमा उहाँहरूको सम्झनामा हामीले अरू के नै गर्न सक्छौँ र ? वार्षिक परम्परागत चाडपर्व नजिकिँदै गर्दा देशमा ठूलो दुःखद घटना भएको छ। त्यसैले हाम्रो मौलिक संस्कृति झल्काउँदै सबैजना भेला भएर दिवंगत स्वदेशी तथा विदेशी नागरिकहरूको सम्झनामा गाईजात्रा आयोजना गरेका हौँ,” उनले भने।

Copyright © All rights reserved. | Newsphere by AF themes.