November 2, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कञ्चनपुरको लालझाडी –५ को ICYC वडा अध्यक्ष कपको आज १६ गतेको नतिजा र भोलि १७ गते हुने खेलबारे जानकारी..

लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका–५ द्वारा आयोजित आठौँ ICYC वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको तेस्रो दिन आज तीनवटा रोमाञ्चक प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। स्थानीय तथा छिमेकी पालिकाका खेलाडीहरूलाई आफ्नो खेल कौशल देखाउने अवसर मिलेको यस प्रतियोगितामा विजयी हुन टोलीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।

​ प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने द्वितीय हुने टोलीलाई नगद रु. ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। खेलप्रेमीहरूलाई रंगशालामा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन पनि आयोजक टोलीले हार्दिक आह्वान गरेको छ।

​तेस्रो दिनको पहिलो खेलमा बोराडाँडी BBYC र समावेशी एकता कृष्णपुर आमनेसामने भएका थिए। निकै प्रतिस्पर्धात्मक बनेको उक्त भिडन्तमा समावेशी एकता कृष्णपुरले बोराडाँडी BBYC लाई १–० को सूक्ष्म अन्तरले पाखा लगाउँदै जित दर्ता गर्‍यो।

​दोस्रो खेलमा ग्वालाबारी टिमले हाम्रो एकता हाम्रो बल महेन्द्रनगरमाथि ४–१ को फराकिलो अन्तरले उत्कृष्ट जित हासिल गर्‍यो। खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको ग्वालाबारीले विपक्षी टोलीलाई दबाबमा राख्दै शानदार सफलता चुमेको हो।

​तेस्रो तथा अन्तिम खेल पुनर्वास लिजेन्ड्स र मौरी फाटा युथ क्लबबीच निकै नै घम्साघम्सीपूर्ण रह्यो। निर्धारित समयसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। रोमाञ्चक पेनाल्टी सुटआउटमा पुनर्वास लिजेन्ड्सले ५–४ को गोल अन्तरले मौरी फाटा युथ क्लबलाई पराजित गर्दै अन्तिम हासो हाँस्यो।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने द्वितीय हुने टोलीलाई नगद रु. ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

​अनुशासन, मेहनत र खेल भावनाका साथ मैदानमा उत्रिएका खेलाडीहरूको प्रदर्शनले मैदानमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। विशेष गरी पेनाल्टीमा धकेलिएको अन्तिम खेलले प्रतियोगितास्थलको वातावरणलाई थप रोमाञ्चक र सनसनीपूर्ण बनाएको थियो।

भोलि कार्तिक १७ गते चौथो दिनमा हुने तीनवटा खेलहरूमध्ये पहिलो खेल सिद्धार्थ युवा क्लब कृष्णपुर V/s मछेली युवा क्लब वाणी बीच 11-30 बजे हुनेछ, दोस्रो खेल कृष्णपुर ABFC v/ s सुदूरश्चिमाञ्चल प्रदेश प्रहरी धनगढी बीच दिउँसो 1:00 बजे हुनेछ भने तेस्रो खेल स्वतन्त्रता युवा क्लब पर्सिया V/s बैजनाथ युवा क्लब देखतभुली बीच दिउँसो 3: 00 बजे सञ्चालन हुने आयोजकले जनाएको छ ।

​यस्ता खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको श्रीवृद्धि गर्नुका साथै खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउन, क्षमता बढाउन र युवाहरूबीच आपसी एकता, सद्भाव तथा भाइचारा कायम राख्न ठूलो मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

The post कञ्चनपुरको लालझाडी –५ को ICYC वडा अध्यक्ष कपको आज १६ गतेको नतिजा र भोलि १७ गते हुने खेलबारे जानकारी.. appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.