खप्तड यातायातको आसन एसी बसमा ५ हजार ५ सय रुपैयाँको चिट्ठा उपहार योजना
धनगढी । खप्तड यातायात प्रालिद्वारा सञ्चालित आसन एसी बसमा यात्रुहरूका लागि ५ हजार ५ सय रुपैयाँको चिट्ठा उपहार योजना लागू गरिएको छ। यात्रुलाई आरामदायी तथा गुणस्तरीय सेवा प्रदान गर्नुका साथै यात्रामार्फत आकर्षक उपहारसमेत प्रदान गर्ने उद्देश्यले योजना सञ्चालनमा ल्याइएको हो।
योजना अन्तर्गत धनगढीबाट काठमाडौं र काठमाडौंबाट धनगढीसम्म आसन एसी बसमा यात्रा गर्ने यात्रुहरूलाई चिट्ठा योजनामा सहभागी गराइने यातायात व्यवसायी दीपक साउदले जानकारी दिए।
साउदका अनुसार एक महिनाभर उक्त बसमा टिकट काटेर यात्रा गर्ने सम्पूर्ण यात्रुहरू स्वतः चिट्ठा योजनामा सहभागी हुनेछन्। यात्रुहरूले काटेको टिकटको ओसी (O.C.) मार्फत चिट्ठा छनोट गरिने र चिट्ठामा विजेता बनेका यात्रुको मोबाइल नम्बर यातायात प्रालिसँग सुरक्षित रहने उनले बताए।
हरेक महिनाको ५ गते चिट्ठा खोलिने व्यवस्था गरिएको छ। चिट्ठामा विजेता यात्रुलाई मोबाइलमार्फत जानकारी गराई क्यूआरमार्फत रकम पठाउने वा प्रत्यक्ष भेटेर ५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको साउदले बताए।
“हामीले यात्रुलाई यात्रा गराउने मात्र होइन, यात्राका क्रममा यात्रुलाई केही उपहार र खुसी पनि दिनुपर्छ भन्ने उद्देश्यले यो योजना ल्याएका हौँ,” व्यवसायी साउदले भने, “यात्रुहरूको विश्वास र मायालाई सम्मान गर्दै आगामी दिनमा पनि सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रयास रहनेछ।”
खप्तड यातायात प्रालिले सञ्चालनमा ल्याएको उक्त योजनाले यात्रुहरूलाई आरामदायी एसी बस सेवासँगै उपहार जित्ने अवसरसमेत प्रदान गर्ने भएको छ। नियमित रूपमा धनगढी–काठमाडौं तथा काठमाडौं–धनगढी यात्रा गर्ने यात्रुहरूका लागि योजना थप आकर्षणको विषय बनेको कम्पनीले जनाएको छ।
