August 30, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुरका ५ युवा बेपत्ता, अभिभावकलाई काठमाडौँ-चितवन पठाइँदै, अन्य सम्पर्कविहीनको सूचना दिन पालिकाको आग्रह

कृष्णपुर: गत भाद्र १० गते आएको विनाशकारी बाढी तथा पहिरोमा परी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ५ जना बासिन्दा सम्पर्कविहीन भएका नगर प्रमुख हेमराज ओझाले जानकारी दिएका छन्। सम्पर्कविहीन हुनेहरूमा वडा नं. ३ का ३० वर्षीय रिकेश कुमार राना, ३१ वर्षीय कालु राना, २२ वर्षीय करेशन रानाका साथै वडा नं. ४ का २३ वर्षीय हिक्मत बहादुर पाल र वडा नं. ५ का ३३ वर्षीय रमेश राज जोशी रहेका छन्।

​सम्पर्कविहीन भएका युवाहरूमध्ये रिकेश, कालु र करेशन माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत रहेका थिए भने हिकमत र रमेश नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रहेका थिए। उनीहरू हालसम्म सम्पर्कमा नआएपछि खोजीका लागि उनीहरूका अभिभावकहरू चितवन र काठमाडौँ जान इच्छुक देखिएकाले नगरपालिकाले उनीहरूलाई पुर्‍याउने र ल्याउने सम्पूर्ण यात्रा व्यवस्था मिलाएको छ। अभिभावकहरूलाई आजै त्यससतर्फ पठाउन लागिएको नगर प्रमुख ओझाले जानकारी दिएका छन्।

​नगर प्रमुख ओझाले सम्पर्कविहीन भएका सबैजना सकुशल भेटिनेमा सम्पूर्ण पालिकावासी आशावादी रहेको बताउँदै उनीहरूको शीघ्र खोज-उद्धारका लागि भगवानसँग प्रार्थना गरेका छन्। साथै, यी ५ जनाबाहेक बाढी तथा पहिरोका कारण पालिकाभित्रका अन्य कोही व्यक्ति सम्पर्कविहीन भएको जानकारी भएमा तत्काल सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रमुख वा नगर उपप्रमुखलाई खबर गर्न आग्रह गरिएको छ।

​देशमा आइपरेको यस ठूलो प्राकृतिक विपद्को समयमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्दै नगर प्रमुख ओझाले विपदमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन।

Copyright © All rights reserved. | Newsphere by AF themes.