कृष्णपुरका ५ युवा बेपत्ता, अभिभावकलाई काठमाडौँ-चितवन पठाइँदै, अन्य सम्पर्कविहीनको सूचना दिन पालिकाको आग्रह
कृष्णपुर: गत भाद्र १० गते आएको विनाशकारी बाढी तथा पहिरोमा परी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ५ जना बासिन्दा सम्पर्कविहीन भएका नगर प्रमुख हेमराज ओझाले जानकारी दिएका छन्। सम्पर्कविहीन हुनेहरूमा वडा नं. ३ का ३० वर्षीय रिकेश कुमार राना, ३१ वर्षीय कालु राना, २२ वर्षीय करेशन रानाका साथै वडा नं. ४ का २३ वर्षीय हिक्मत बहादुर पाल र वडा नं. ५ का ३३ वर्षीय रमेश राज जोशी रहेका छन्।
सम्पर्कविहीन भएका युवाहरूमध्ये रिकेश, कालु र करेशन माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत रहेका थिए भने हिकमत र रमेश नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रहेका थिए। उनीहरू हालसम्म सम्पर्कमा नआएपछि खोजीका लागि उनीहरूका अभिभावकहरू चितवन र काठमाडौँ जान इच्छुक देखिएकाले नगरपालिकाले उनीहरूलाई पुर्याउने र ल्याउने सम्पूर्ण यात्रा व्यवस्था मिलाएको छ। अभिभावकहरूलाई आजै त्यससतर्फ पठाउन लागिएको नगर प्रमुख ओझाले जानकारी दिएका छन्।
नगर प्रमुख ओझाले सम्पर्कविहीन भएका सबैजना सकुशल भेटिनेमा सम्पूर्ण पालिकावासी आशावादी रहेको बताउँदै उनीहरूको शीघ्र खोज-उद्धारका लागि भगवानसँग प्रार्थना गरेका छन्। साथै, यी ५ जनाबाहेक बाढी तथा पहिरोका कारण पालिकाभित्रका अन्य कोही व्यक्ति सम्पर्कविहीन भएको जानकारी भएमा तत्काल सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रमुख वा नगर उपप्रमुखलाई खबर गर्न आग्रह गरिएको छ।
देशमा आइपरेको यस ठूलो प्राकृतिक विपद्को समयमा सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्दै नगर प्रमुख ओझाले विपदमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन।
