नेपाली नयाँ इतिहास: ‘रोड टु यूएफसी’ को फाइनल पुग्ने पहिलो नेपाली बने ‘बझाङ्गी बाघ’ रवीन्द्र

कञ्चनपुर : नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) को इतिहासमा एउटा स्वर्ण अध्याय थपिएको छ। चीनको सांघाईमा आयोजित ‘रोड टु यूएफसी सिजन–५’ को बान्टमवेट विधाको सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पाखा लगाउँदै बझाङका रवीन्द्र ढाँट फाइनलमा प्रवेश गरेका छन्। यो जितसँगै विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित एमएमए संस्था ‘यूएफसी’ (Ultimate Fighting Championship) मा व्यावसायिक सम्झौता (कन्ट्र्याक्ट) पाउनका लागि रवीन्द्र अब मात्र एक कदम टाढा छन्।
‘बझाङ्गी बाघ’ का रूपमा चिनिने रवीन्द्र रोड टु यूएफसीको फाइनलसम्म पुग्ने पहिलो नेपाली फाइटर हुन्। यस प्रतियोगिताको यात्रामा उनले आफ्नो उत्कृष्ट कौशल र धैर्यताको प्रदर्शन गर्दै आएका छन्। यसअघि क्वार्टरफाइनलमा फिलिपिन्सका सशक्त फाइटर किम्बर्ट अलिन्टोजोनलाई हराएर सेमिफाइनलको यात्रा तय गरेका रवीन्द्रले सेमिफाइनलमा पनि आफ्नो आक्रामक र रणनीतिक खेल कायम राख्दै जित दर्ता गरे।
रवीन्द्रको यो सफलता रातारात मिलेको भने होइन। नेपाली फाइटरहरूका लागि पूर्वाधार र स्रोत–साधनको ठूलो अभाव रहेको अवस्थामा पनि उनले घरेलु तथा क्षेत्रीय प्रतियोगिताहरूमा लगातार मेहनत गरिरहे। भारतको चर्चित र प्रतिस्पर्धी म्याट्रिक्स फाइट नाइट (MFN) मा बान्टमवेट च्याम्पियन बनेर उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमताको पहिलो ठूलो छाप छोडेका थिए। एमएफएनमा देखाएको त्यही उत्कृष्ट प्रदर्शन र निरन्तरताले नै उनका लागि रोड टु यूएफसी जस्तो अन्तर्राष्ट्रिय मञ्चको ढोका खोलेको हो।
नेपालमा एमएमए खेल अझै पनि भर्खरै बामे सर्दै गरेको अवस्थामा छ। यस्तो स्थितिमा विकट जिल्ला बझाङबाट उठेर अन्तर्राष्ट्रिय रिङमा देशको नाम उच्च बनाउनु आफैँमा ऐतिहासिक र प्रेरणादायी छ। रवीन्द्रको यो उपलब्धिले नेपाली एमएमए खेल क्षेत्रलाई नयाँ उचाइ दिएको छ भने आर्थिक र भौतिक पूर्वाधारको कमीका बाबजुद पनि नेपाली खेलाडीहरू विश्वस्तरका प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गरेको छ।
अब हुने फाइनल खेलमा विजयी भएमा रवीन्द्रले यूएफसीसँग आधिकारिक सम्झौता पाउनेछन्, जुन हरेक एमएमए फाइटरको सपना हुन्छ। उनको यो यात्राले नेपालका उदीयमान युवा खेलाडीहरूलाई मार्सल आर्ट्समा भविष्य खोज्न थप हौसला र दिशा प्रदान गरेको छ।
