भोटेकोशी बाढीपीडितका लागि आइएमई लाइफले १ करोड सहयोग गर्ने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले उक्त रकम **‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’**मा प्रदान गर्ने जनाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। बाढी र डुबानका कारण नागरिकले ज्यान गुमाउनुका साथै कैयौँ बेपत्ता भएका र ठूलो संख्यामा परिवार विस्थापित हुनुपरेको भन्दै कम्पनीले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेको छ।
विपद्का बेला नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाबाट भइरहेको उद्धार तथा राहत प्रयासमा ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ।
रु. १ करोड सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, राहत, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने कम्पनीको विश्वास छ।
आइएमई लाइफले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
