दोधारा चाँदनी पुलबाट महाकालीमा फाल हा’नेकी सुस्मिताको जीवितै उद्धार, अस्पताल रिफर
कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी ०१ स्थित महाकाली नदीको पक्की पुलबाट हामफालेकी एक युवतीको प्रहरीले जीवितै उद्धार गरेको छ।
दार्चुलाको लेकम गाउँपालिका–६ स्थायी घर भएकी २१ वर्षीया सुस्मिता खत्रीले सोमबार दिउँसो करिब २:१० बजे पुलबाट नदीमा फाल हानेकी थिइन्। महिला नदीमा खसेको खबर पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले तुरुन्तै घटनास्थल पुगेर उनलाई नदीबाट बाहिर निकालेको हो।
उद्धारपश्चात् उनलाई तत्कालै स्थानीय दोधारा चाँदनी अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ प्राथमिक उपचारपछि थप गम्भीर स्वास्थ्य परीक्षण र उपचारका लागि महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर पठाइएको छ।
युवतीले नदीमा हामफाल्नुको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
