September 1, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनका लागि नयाँ रुट व्यवस्था

  1. हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै विभिन्न राजमार्गमा आवागमन गर्ने सवारीसाधनको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमन व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गरेको छ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०८३ भदौ १५ गतेदेखि लागू हुने गरी यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै रुट व्यवस्थापन गरेको हो।
    सूचनाअनुसार १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
    त्यसैगरी, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनलाई हेटौंडाबाट फाखेल–कुलेखानी हुँदै तथा काठमाडौं आवतजावत गर्दा कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्ने व्यवस्था गरिएको छ।
    मौसम, सडकको अवस्था तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ जाने यात्रुवाहक सवारीसाधनले बिहान ८ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
    प्रशासनले विपद्को समयमा अत्यावश्यक अवस्थामा बाहेक राजमार्गमा सवारी चलाउँदा धैर्य र अनुशासन अपनाउन तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडकको अवस्था र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी चालक, यातायात व्यवसायी तथा यात्रुलाई तोकिएको व्यवस्थाको पालना गर्न अनुरोध गरेको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.