September 2, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

विद्यालयको ३०० मिटर क्षेत्रभित्र धूम्रपान, मदिरा तथा सुर्तीजन्य वस्तु निषेध गर्न अनुगमन

कृष्णपुर–१, कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ मा विद्यालय वरपर रहेका पसल तथा व्यवसायहरूको अनुगमन गरिएको छ। वडास्तरीय बैजनाथ बाल क्लबको नेतृत्वमा कृष्णपुर नगरपालिका–१, अस्थायी प्रहरी पोस्ट पहरिया, इलाका प्रहरी कार्यालय गुलरिया तथा बाल सञ्जालको समन्वय र सहकार्यमा आज विद्यालय आसपासका पसलहरूको अनुगमन गरिएको हो।

केही दिनअघि कृष्णपुर नगरपालिका वडा नं. १ को कार्यालयले विद्यालयको ३०० मिटर क्षेत्रभित्र धूम्रपान, मदिरापान तथा सुर्तीजन्य र मदिराजन्य वस्तुहरूको बिक्री–वितरण तथा प्रयोग निषेध गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचनाको कार्यान्वयन तथा विद्यालय क्षेत्रलाई सुरक्षित र बालमैत्री बनाउने उद्देश्यले आज पसलहरूको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा विद्यालय नजिक रहेका पसल सञ्चालकहरूलाई धूम्रपान, मदिरा तथा सुर्तीजन्य र मदिराजन्य वस्तुहरू बिक्री–वितरण नगर्न तथा पसलमा रहेका त्यस्ता वस्तुहरूको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

विद्यालय क्षेत्रलाई बालमैत्री, सुरक्षित र स्वस्थ वातावरणका रूपमा विकास गर्न सबै व्यवसायी तथा स्थानीयवासीले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ। साथै, सूचनाको अवज्ञा गरी निषेधित वस्तुहरूको बिक्री–वितरण तथा व्यवस्थापन नगरेको पाइएमा नगरपालिकाले प्रचलित कानुन तथा स्थानीय नियमअनुसार आवश्यक कारबाही गर्ने जनाइएको छ।

बालबालिकाको स्वास्थ्य, सुरक्षा र अधिकार संरक्षणका लागि गरिएको यस अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताइएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.