October 3, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

लालझाडीको कञ्चन सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

लालझाडी: कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४, डाँडाजाँईमा अवस्थित श्री कञ्चन सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। सामुदायिक वनको संरक्षण, व्यवस्थापन, उपभोक्ताहरूको हित तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गर्दै सम्पन्न यस साधारण सभाले वन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

​कार्यक्रमको अध्यक्षता श्री कञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण सिंह ऐरले गर्नुभएको थियो। कार्यक्रममा लालझाडी गाउँपालिका–४ का वडा कार्यपालिका सदस्य गर्भु राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सीएफसीसी (CFCC) कञ्चनपुरका उपाध्यक्ष नरेश राज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

​त्यसैगरी सभामा अन्य विशिष्ट अतिथिहरूका रूपमा लालझाडी गाउँपालिका–४ का वडा कार्यपालिका सदस्य डल्ली देवी चौधरी,  इलाका प्रहरी कार्यालय कसुवाका प्रहरी सहायक निरीक्षक विष्णु बहादुर सिंह, सीबापो (CBAPO) कञ्चनपुरका संयोजक सहदेव राना, नवदुर्गा सा.व.उ.स.का अध्यक्ष लाल सिंह सेट्टी, सिद्धनाथ सा.व.उ.स.का सचिव अभिबरण राना र सदस्य नन्दराम जोशीको उपस्थिति रहेको थियो। यसैगरी, लालझाडी सबडिभिजन वन कार्यालयका वन रक्षकद्वय वसन्त भट्ट र पुरन थारु तथा इलाका प्रहरी कार्यालय कसुवाका प्रहरी जवान रूपेश चौधरी लगायत विभिन्न सामुदायिक वनका प्रतिनिधि, वन रक्षक र विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

​कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै समूहकी उपाध्यक्ष बन्धो रानाले सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा स्थानीय उपभोक्ताहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले वन संरक्षण सँगसँगै उपभोक्ताहरूको दैनिक आवश्यकता र हितलाई प्राथमिकतामा राखेर वन व्यवस्थापनका गतिविधिहरूलाई अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

​साधारण सभाका अवसरमा समूहकी कोषाध्यक्ष रेश्मा रानाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरण अनुसार समूहको कुल रु. २२ लाख ७९ हजार ९ सय ६० बराबरको आर्थिक कारोबार भएको जानकारी गराइएको थियो। उक्त आर्थिक प्रतिवेदन तथा कारोबारमाथि उपस्थित सहभागीहरूले गम्भीरतापूर्वक छलफल गर्दै आगामी दिनमा समूहको आर्थिक पारदर्शिता र सुदृढ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

​छलफलका क्रममा सहभागीहरूले स्थानीय वातावरणको संरक्षण, चोरी–तस्करी नियन्त्रण, वृक्षरोपण अभियान तथा वन स्रोतको दिगो उपयोगलाई आगामी दिनमा थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए। सामुदायिक वनले प्राकृतिक वातावरणको संरक्षण गर्नुका साथै स्थानीय बासिन्दाहरूको इन्धन, घाँसपात लगायतका दैनिक आवश्यकताहरू परिपूर्ति गर्न ठूलो सहयोग पुर्‍याउँदै आएको कुरामा वक्ताहरूले प्रकाश पारेका थिए। वनको संरक्षण, संवर्द्धन र दिगो उपयोगका लागि सबै पक्षबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो।

​औपचारिक सत्रसँगै साधारण सभालाई थप उल्लासपूर्ण र मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमहरूको समेत प्रस्तुति गरिएको थियो। स्थानीय कलाकार तथा सहभागीहरूद्वारा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमले कार्यक्रममा उपस्थित सबैलाई थप उत्साहित बनाएको थियो। शिक्षक दीपेन्द्र रानाद्वारा सञ्चालन गरिएको यस साधारण सभाले आगामी कार्यकालका लागि वन व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धताका साथ सम्पन्न भएको छ।

कार्यक्रम सम्बन्धित थप फोटोहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

The post लालझाडीको कञ्चन सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.