डिआईजी सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष उद्घाटन
अत्तरिया, कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा यात्रु सहायता कक्षको विधिवत् उद्घाटन गरिएको छ।
वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशबाट घर फर्किने यात्रुहरूलाई सहज, सुरक्षित तथा व्यवस्थित यात्रा गराउने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
सहायता कक्षको उद्घाटन गर्दै डिआईजी भट्टराईले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रुहरूको सुरक्षा तथा सहजीकरणलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले दुर्घटनारहित यातायात सञ्चालनका लागि प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख एसपी नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्द, यातायात व्यवस्था कार्यालय धनगढीका कार्यालय प्रमुख भुवन जोशी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महरा लगायत प्रहरी कर्मचारी, यातायात व्यवसायी, चालक–सहचालक, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
चाडपर्वलाई लक्षित गर्दै कैलालीमा १० स्थान, कञ्चनपुरमा ८ स्थान तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा आवश्यकताअनुसार यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ।
यात्राका क्रममा कुनै समस्या परेमा यात्रुहरूले नेपाल प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको हटलाइन १०३, यात्रु सहायता कक्ष वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
The post डिआईजी सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष उद्घाटन appeared first on ✍️कञ्चन मिडिया📸.
