दुई वर्षीय छोरालाई माइतीमै छोडेर सुनिता सम्पर्कविहीन, साउदीबाट श्रीमानको भावुक सन्देश
कञ्चनपुर: कञ्चनपुरकी २१ वर्षीया सुनिता विक गत बिहीबारदेखि सम्पर्कविहीन भएकी छन्। बेलौरी नगरपालिका–१०, भुडा माइतीघरमा बस्दै आएकी सुनिता बिहीबार बिहान आफ्नी आमासँग सामान्य विवाद भएपछि घरबाट निस्किएको उनका श्रीमान् अर्जुन विकले बताएका छन्। घरबाट निस्कने क्रममा उनले आफ्ना दुई वर्षीय छोरालाई भने माइतीघरमै छोडेर गएकी थिइन्।
सुनिता घरबाट निस्किएपछि परिवारले सुरुमा आफन्त, नातेदार तथा चिनजानका विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी उनको खोजी गरेको थियो। तर, अहिलेसम्म उनको अवस्था बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवारका अनुसार सुनिता सामान्य विवादपछि घरबाट बाहिरिएकी थिइन् र त्यसपछि कसैको सम्पर्कमा आएकी छैनन्।
सुनिता लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत जानकारी गराएको छ। परिवारले प्रहरी चौकी भुडामा सुनिता सम्पर्कविहीन भएको जानकारी गराउँदै उनको खोजीका लागि सहयोग मागेको जनाएको छ। आफन्त र सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै सुराक फेला नपरेपछि परिवारको चिन्ता झनै बढ्दै गएको छ।
सुनिता सम्पर्कविहीन भएको करिब एक साता पुग्न लाग्दासमेत उनको कुनै खबर नआएपछि परिवार गहिरो चिन्तामा परेको छ। विशेषगरी उनीसँगै रहेका दुई वर्षीय छोरा आमाको खोजीमा रोइरहेको परिवारले जनाएको छ। सानो उमेरको बच्चाले पटक–पटक ‘ममी खोई?’ भन्दै आमालाई खोजिरहँदा परिवारका सदस्यहरूलाई समेत भावुक बनाउने अवस्था सिर्जना भएको बताइएको छ।
सुनिताको विवाह भएको ६ वर्षभन्दा बढी समय भइसकेको बताइएको छ। उनको विवाह कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणी घर भएका अर्जुन विक सँग भएको हो। विवाहपछि सुनिता माइतीघरमै बस्दै आएकी थिइन् भने उनका श्रीमान् अर्जुन करिब डेढ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका छन्।
श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला श्रीमती एकाएक दुई वर्षीय छोरालाई माइतीघरमै छोडेर सम्पर्कविहीन भएपछि अर्जुनले सामाजिक सञ्जालमार्फत सुनिताको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। उनले आफ्नी श्रीमती जहाँ भए पनि सुरक्षित रूपमा परिवारको सम्पर्कमा आउन आग्रह गरेका छन्।
अर्जुनले सार्वजनिक गरेको भावुक भिडियो सन्देशमा सुनितालाई आफूहरूसँग सम्पर्क गर्न आग्रह गर्दै भनेका छन्, ‘सुनिता, तिमी कतै गएको भए पनि एकपटक आफ्नो माइती पक्षको सम्पर्कमा आइदेऊ। कहीँ आफ्नो मान्छेको घरमा गएको भए पनि आफू कहाँ छु भनेर जानकारी देऊ। ठिक छ, म केही भन्दिनँ।’
श्रीमतीप्रति कुनै आक्रोशभन्दा पनि उनको अवस्थाबारे जानकारी पाउन चाहेको बताउँदै अर्जुनले परिवार निकै चिन्तित रहेको बताएका छन्। उनका अनुसार सुनिताका आमाबुबा छोरीको अवस्थाबारे जानकारी नपाउँदा पीडामा छन् भने दुई वर्षीय छोरा आमाको प्रतीक्षामा छ।
‘आमा–बुबा साह्रै चिन्तित हुनुहुन्छ, सानो बाबु ममी खोई भनेर रोइरहेको छ,’ भन्दै अर्जुनले सुनितालाई जतिसक्दो चाँडो परिवारको सम्पर्कमा आउन भावुक आग्रह गरेका छन्। उनले सुनिता जहाँ भए पनि सुरक्षित रहेको जानकारी मात्रै दिए परिवारको ठूलो चिन्ता कम हुने बताएका छन्।
परिवारले सुनितालाई चिन्ने, देख्ने वा उनीबारे कुनै जानकारी पाएका जो–कोहीलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन आग्रह गरेको छ। लामो समयसम्म सम्पर्कविहीन रहेकी २१ वर्षीया सुनिताको अवस्था अझै अज्ञात रहेकाले उनको सुरक्षित खोजी तथा अवस्थाबारे सत्यतथ्य पत्ता लगाउन परिवारले सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
The post दुई वर्षीय छोरालाई माइतीमै छोडेर सुनिता सम्पर्कविहीन, साउदीबाट श्रीमानको भावुक सन्देश appeared first on ✍️कञ्चन मिडिया📸.
