कञ्चनपुरको लालझाडीमा १० शैयाको आधारभूत अस्पताल र आयुर्वेद औषधालयको भवन उद्घाटन
लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ३, नन्दगाउँमा नवनिर्मित १० शैयाको लालझाडी आधारभूत अस्पताल तथा शंकरपुर आयुर्वेद औषधालयको भवन एक विशेष समारोहकाबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। सोमबार आयोजित यस उद्घाटन कार्यक्रमले यस क्षेत्रका बासिन्दामा ठूलो उत्साह र खुसीयाली छाएको छ।
वडा नम्बर ३ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका प्रमुख टिकाराम डगौराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, निवर्तमान गाउँपालिका अध्यक्ष मदनसेन बडायक, स्वास्थ्य कार्यालयका प्रमुख दीपेन्द्र रावल, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपाने लगायत कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा वडा नम्बर २ का अध्यक्ष आशाराम रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्न अहोरात्र खटिने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र सम्पूर्ण सहयोगी निकायप्रति आभार प्रकट गर्नुभयो। उहाँले यस अस्पतालको सञ्चालनबाट स्थानीय नागरिकहरूले अब सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने र आफ्नै पालिकाभित्र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले सुदूरपश्चिम प्रदेशमै स्वास्थ्य क्षेत्रको विकासमा लालझाडीले उल्लेखनीय छलाङ मारेको बताउनुभयो। उहाँले अब पालिका आफ्नै क्षेत्रबाट विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्न सक्षम बन्दै गएको दाबी गर्नुभयो।
कार्यक्रममा आफ्नो कार्यकालको स्मरण गर्दै निवर्तमान अध्यक्ष मदनसेन बडायकले आफू नेतृत्वमा हुँदा शिलान्यास गरिएको अस्पताल भवन सम्पन्न भई सञ्चालनमा आउनु अत्यन्तै खुसीको विषय भएको उल्लेख गर्नुभयो। संघीयताको मर्म अनुसार जनताको कर र सहभागिताबाट निर्माण भएका यस्ता संरचनाले नागरिकलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिँदै उहाँले लालझाडीको भौगोलिक विकटतालाई मध्यनजर गर्दै दीर्घकालीन विकासका योजनाहरू अघि बढाउनुपर्ने र दक्ष जनशक्तिको उचित प्रबन्ध गरिनुपर्ने धारणा राख्नुभयो। उहाँले समाजको रूपान्तरण कुनै एक व्यक्तिको मात्र प्रयासबाट सम्भव नहुने भएकाले सबैको हातेमालो र संयुक्त प्रयास अपरिहार्य रहेको औंल्याउनुभयो।
प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष निर्मल रानाले अस्पताल भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर ठูलो सहयोग पुर्याएकोमा शंकरपुर आधारभूत विद्यालयप्रति विशेष आभार व्यक्त गर्नुभयो। निर्माण कम्पनी ‘रुद्रावती निर्माण सेवा’ले सम्झौतामा तोकिएको मितिभन्दा करिब एक वर्ष अगावै भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको जानकारी उहाँले दिनुभयो। अस्पताल भवन र आवश्यक उपकरणहरू जुटिसके पनि दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव अझै रहेकोले सोको परिपूर्तिको लागि प्रदेश र संघीय सरकारसँग जोडदार पहल भइरहेको उहाँले प्रष्ट पार्नुभयो। स्थानीय जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो।
उद्घाटन कार्यक्रमको अवसर पारेर अस्पताल निर्माणका लागि निस्स्वार्थ रूपमा जग्गा उपलब्ध गराउने विद्यालय परिवार र तोकिएको समयभन्दा अगावै उत्कृष्ट ढङ्गले भवन निर्माण गरिदिने रुद्रावती निर्माण सेवाका प्रतिनिधिहरूलाई विशेष सम्मान गरिएको थियो। स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहलाई अझ आकर्षक बनाउन उनीहरूले आफ्नै मौलिक सांस्कृतिक पहिचान झल्काउने सखिया र होरी नाच प्रस्तुत गरेका थिए।

The post कञ्चनपुरको लालझाडीमा १० शैयाको आधारभूत अस्पताल र आयुर्वेद औषधालयको भवन उद्घाटन appeared first on ✍️कञ्चन मिडिया📸.
