November 25, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दार्चुलामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दार्चुला, मंसिर ९। लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्ने उद्देश्यसहित दार्चुलामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ।

महिला मानव अधिकार रक्षक सञ्जाल दार्चुलाको आयोजनामा बुधबार सदरमुकाम खलंगामा अभियानको शुभारम्भ गरिएको हो। सञ्जालका अध्यक्ष गौरी बडालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा अध्यक्ष बडालले लैङ्गिक हिंसा अन्त्य गर्न सरकारसँगै परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम तथा नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरण गर्दै पीडितलाई न्याय र संरक्षण प्रदान गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।

अभियान शुभारम्भ कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था, अभियानको उद्देश्य तथा हिंसा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने १६ दिने अभियानअन्तर्गत लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि तथा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा जोड दिइन्छ।

यस वर्ष दार्चुलामा अभियान सुरु भए पनि सरकारी स्तरबाट भने जिल्लास्तरीय कार्यक्रम सञ्चालन नभएको जनाइएको छ।

 

 

The post दार्चुलामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.