July 9, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

नेपालका सार्वजनिक सवारी चालकको जिम्मेवारी ठूलो, सम्मान किन सानो ?

✍

✍ लेखक: राम बहादुर डाङ्गी ‘राजन’
धनगढी। सार्वजनिक सवारी चालकहरूलाई समाजका “अदृश्य नायक” को रूपमा चित्रण गर्दै लेखक राम बहादुर डाङ्गी ‘राजन’ ले चालकहरूको सम्मान, सुरक्षा र सामाजिक प्रतिष्ठाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार सार्वजनिक सवारी चालकको भूमिका केवल सवारी चलाउनेमा सीमित छैन। उनीहरू हजारौं यात्रुको जीवनको सुरक्षा, खाद्यान्न तथा निर्माण सामग्रीको ढुवानीजस्ता अत्यावश्यक सेवाको जिम्मेवारी बोकेर दिनरात खटिरहेका हुन्छन्। सडक दुर्घटनाको जोखिम, ट्राफिक चाप, प्रतिकूल मौसम तथा विभिन्न असहज परिस्थितिबीच पनि चालकहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्।
लेखमा समाजमा अझै पनि चालक पेशालाई श्रमजीवी वर्गसँग मात्र जोडेर हेर्ने संकीर्ण सोचका कारण अपेक्षित सम्मान नपाएको उल्लेख गरिएको छ। साथै चालकहरूको श्रम सुरक्षा, स्वास्थ्य बीमा, पेन्सन, निश्चित कार्यसमय तथा सामाजिक सुरक्षाको अभावले उनीहरू थप असुरक्षित बन्दै गएको लेखकको भनाइ छ।
आर्थिक अस्थिरता, लक्ष्यको दबाब र न्यून आम्दानीका कारण दक्ष चालकहरू विदेश पलायन हुने वा पेशा नै परिवर्तन गर्न बाध्य भइरहेको उल्लेख गर्दै यसले नेपालको यातायात क्षेत्रमै दीर्घकालीन असर पार्ने चेतावनी पनि दिइएको छ।
लेखक डाङ्गीले समाधानका रूपमा चालक पेशालाई “Public Safety Profession” को रूपमा सरकारी मान्यता दिनुपर्ने, सामाजिक सुरक्षा योजना अनिवार्य लागू गर्नुपर्ने, व्यवस्थित तालिम तथा सीपको औपचारिक मान्यता प्रदान गर्नुपर्ने र चालकप्रति सम्मानको भावना विकास गर्न सार्वजनिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।
लेखको अन्त्यमा उनले भनेका छन्, “जसले हाम्रो यात्रा सुरक्षित बनाउँछन्, उनीहरूको भविष्य असुरक्षित हुनु न्यायोचित होइन। चालकहरूले यात्रुको गन्तव्य सुरक्षित बनाएका छन्, अब समाज र राज्यले चालकहरूको भविष्य सुरक्षित बनाउने बेला आएको छ।”

Copyright © All rights reserved. | Newsphere by AF themes.