लागुपदार्थ सेवन गरेर सवारी चलाउने ४ चालक कञ्चनपुरमा ट्राफिक प्रहरीको नियन्त्रणमा
कञ्चनपुर
कञ्चनपुरमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेका ४ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले मिति २०८३ साउन १२ गते प्रहरी चौकी सुडा र महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरको सहकार्यमा बेदकोट नगरपालिका–१० सिसैया स्थित महेन्द्र राजमार्गमा सार्वजनिक तथा निजी गरी १६ वटा सवारी साधनको चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाइरहेका ४ जना चालक फेला परेका हुन्। नियन्त्रणमा परेकामध्ये १ जना ईभी हाइस चालक, १ जना अटो चालक र २ जना मोटरसाइकल चालक रहेका छन्।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको भन्दै यसले चालक मात्र होइन, अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पार्ने जनाएको छ।
