दसौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ६ सय खेलाडी, सात स्थानमा ३२ खेल हुने
धनगढी: कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले ३० वटा खेल विधामा ६०० खेलाडी पठाउने भएको छ। प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रदेशस्तरीय छनोट चरणबाट खेलाडीहरू छानिएका हुन्। सार्वजनिक गरिएको सूचीअनुसार भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल र खोखोलगायतका खेलमा महिला र पुरुष दुवै समूहका खेलाडी समेटिएका छन्। आवश्यकताअनुसार केही खेलका टोलीमा वैकल्पिक खेलाडीसमेत राखिएको छ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोलीमा खेलाडीसँगै प्रशिक्षक, अफिसियल र कर्मचारीसमेत गरी जम्मा ७२४ जना रहनेछन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ का अनुसार ६०० खेलाडीबाहेक अन्य १२४ जना व्यवस्थापन, प्राविधिक तथा सहयोगी भूमिकामा रहनेछन्। विविध खेलमा खेलाडी छनोट पूरा भएसँगै प्रतियोगितामा सुदूरपश्चिमको प्रभावकारी उपस्थिति रहने अपेक्षा गरिएको परिषद्ले जनाएको छ।
यसैबिच, दशौँ राष्ट्रिय खेलकुद–२०८३ अन्तर्गत कुल ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका गरी सात स्थानमा हुने तय भएको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार सर्वाधिक २३ खेल सुर्खेतमै खेलाइनेछ भने अरू खेलहरू नेपालगञ्ज, बर्दिया, सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुममा आयोजना हुनेछन्। खेलकुद महोत्सव मंसिर १६ गते सुरु भई मंसिर २७ गते सकिनेछ।
The post दसौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ६ सय खेलाडी, सात स्थानमा ३२ खेल हुने appeared first on ✍️कञ्चन मिडिया📸.
