शुक्लाफाँटा नगरपालिकाको आगामी वर्ष २०८३/०८४ को बजेटको यस्तो छ, आर्थिक खाका र प्राथमिकता
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले स्थानीय विकास, सामाजिक सुरक्षा र पूर्वाधार निर्माणलाई सन्तुलित ढंगले अगाडि बढाउने उद्देश्यका साथ आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नयाँ बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न २२ औँ नगरसभामा नगर उपप्रमुख कल्पना पन्तले झन्डै ९६ करोड अर्थात् ९५ करोड ८४ लाख ४९ हजार रुपैयाँको आय-व्ययको अनुमानित विवरण प्रस्तुत गरेकी हुन्। नगर प्रमुख रणबहादुर महराले अघि सारेको नीति तथा कार्यक्रमलाई मूर्त रूप दिन ल्याइएको यो बजेटलाई नगरसभाले सर्वसम्मतिबाट स्वीकृत समेत गरिसकेको छ।

नगरपालिकाले प्रस्तुत गरेको आगामी वर्षको आम्दानीको पाटोलाई हेर्दा यो बजेट मुख्य रूपमा बाह्य अनुदान र राजस्व बाँडफाँटमा बढी निर्भर देखिन्छ। कुल बजेटमा नगरपालिकाको आफ्नै आन्तरिक स्रोतबाट २ करोड ४२ लाख ८४ हजार रुपैयाँ मात्र संकलन हुने अनुमान छ भने स्थानीय स्तरमा उठ्ने मालपोत तथा घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ७३ लाख रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। बजेटको ठूलो हिस्सा नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त हुने ४३ करोड ३९ लाख रुपैयाँ र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि प्राप्त हुने २५ करोड रुपैयाँले ओगटेका छन्। त्यस्तै, संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ करोड ५६ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ७ करोड ९९ लाख ६३ हजार र राजस्व बाँडफाँटबाट ५३ लाख ५६ हजार रुपैयाँ प्राप्त हुने देखिन्छ। यसका अतिरिक्त अन्य विविध आन्तरिक स्रोतबाट २ करोड र सडक बोर्डमार्फत ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान नगरपालिकाको छ।
व्ययतर्फ नगरपालिकाले प्रशासनिक कार्य, कर्मचारी पारिश्रमिक र सामाजिक सुरक्षा भत्ता जस्ता नियमित दायित्वहरू समावेश हुने चालु खर्चका लागि ७१ करोड ७२ लाख ४ हजार ८ सय ४३ रुपैयाँ विनियोजन गरेको छ। अर्कोतर्फ, नगरको भौतिक विकास र दीर्घकालीन संरचना निर्माणका लागि २४ करोड १२ लाख ४४ हजार १ सय ५६ रुपैयाँ पूँजीगत खर्चका रूपमा छुट्याइएको छ। कुल विनियोजित बजेटलाई क्षेत्रगत रूपमा हेर्दा यस पटक शुक्लाफाँटाले सामाजिक र पूर्वाधार क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको प्रस्ट देखिन्छ।
यस अन्तर्गत शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका कार्यक्रमहरू समेटिएको सामाजिक विकास क्षेत्रका लागि सबैभन्दा ठूलो हिस्सा अर्थात् ५९ करोड ६१ लाख १४ हजार ८ सय ४३ रुपैयाँ खर्च गरिनेछ। नगरको भौतिक स्वरूप बदल्न, सडक, भवन तथा अन्य निर्माण कार्यका लागि पूर्वाधार विकासतर्फ २३ करोड ५ लाख ९४ हजार १ सय ५६ रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी, स्थानीय तहको दैनिक कार्यसम्पादन र प्रशासनिक कार्य चुस्त राख्न कार्यालय सञ्चालनतर्फ १२ करोड १० लाख ९० हजार रुपैयाँ तोकिएको छ भने स्थानीय उत्पादन, कृषि तथा रोजगारी प्रवर्द्धन जस्ता आर्थिक विकासका क्रियाकलापका लागि ९० लाख ५० हजार रुपैयाँ व्यवस्था गरिएको छ। संस्थागत क्षमता विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि भने १६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
समग्रमा, शुक्लाफाँटा नगरपालिकाको यो नयाँ बजेटले सामाजिक क्षेत्रको रूपान्तरण र स्थानीय पूर्वाधार निर्माणलाई परिपूरकका रूपमा अघि बढाउन खोजेको देखिन्छ। आन्तरिक आम्दानीको दायरा अझै सानो रहे पनि संघीय र प्रादेशिक स्रोतको अधिकतम उपयोग गरेर नगरको वृहत्तर हित गर्ने लक्ष्य बजेटले लिएको छ। (सत्य दृश्यको सहयोगमा)
The post शुक्लाफाँटा नगरपालिकाको आगामी वर्ष २०८३/०८४ को बजेटको यस्तो छ, आर्थिक खाका र प्राथमिकता appeared first on .