November 7, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

राजापुरमा सामुदायिक आँखा उपचार केन्द्र उद्घाटन, पहिलो दिनमै ३४३ जनाले लिए निःशुल्क सेवा

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक आँखा उपचार केन्द्र (Community Eye Care Centre) स्थापना गरी शनिबार उद्घाटन गरिएको छ। रोटरी फाउन्डेसनको ‘Sight Without Barriers’ परियोजनाअन्तर्गत स्थापना गरिएको उक्त केन्द्रको उद्घाटनसँगै पहिलो दिनमै ३४३ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन्।
रोटरी क्लब अफ रुद्रमती काठमाडौंको आयोजना, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ तथा अन्तर्राष्ट्रिय साझेदार रोटरी क्लब अफ प्राग इन्टरनेसनल, डिस्ट्रिक्ट २२४० को सहकार्यमा सञ्चालित परियोजनामा राजापुर नगरपालिका, राजापुर उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी बर्दिया र डीसी शिवगंगा आँखा अस्पतालको समेत सहकार्य रहेको थियो।
उद्घाटनकै दिन सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा १३८ पुरुष र २०५ महिला गरी जम्मा ३४३ जनाले सेवा लिएका थिए। परीक्षणका क्रममा ३९ पुरुष र ३२ महिला गरी ७१ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो।
उक्त मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रका इन्चार्ज संगम थारूले जानकारी दिए। शल्यक्रियाका लागि आवश्यक औषधि तथा उपचार सहयोग Ruit Foundation र Cure Blindness ले उपलब्ध गराउनेछ भने आवश्यक चस्मा रोटरी क्लबले निःशुल्क उपलब्ध गराएको छ।
कार्यक्रममा डीसी शिवगंगा आँखा अस्पतालका  किश्लय मिश्र आउटरिच इन्चार्ज तथा  अन्य नेत्र विशेषज्ञहरूको उपस्थिति रहेको थियो। साथै राजापुर नगरपालिका क्षेत्रभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको समेत सहभागिता रहेको थियो।
बिहानदेखि सञ्चालन भएको कार्यक्रम साँझ ५ बजे समापन भएको थियो।
स्थानीय स्तरमै आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध हुने भएपछि राजापुर नगरपालिका र आसपासका क्षेत्रका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा टाढाका अस्पतालसम्म पुग्न कठिनाइ हुने नागरिकका लागि यो केन्द्र उपयोगी बन्ने विश्वास गरिएको छ।

The post राजापुरमा सामुदायिक आँखा उपचार केन्द्र उद्घाटन, पहिलो दिनमै ३४३ जनाले लिए निःशुल्क सेवा appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.