बसभित्रै महिला यात्रुमाथि अभद्र व्यवहार, सीसीटीभीले खोल्यो वास्तविकता
काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको रात्रिबसमा मदिरा सेवन गरेका तीन युवाले महिला यात्रुमाथि अभद्र व्यवहार तथा अश्लील गालीगलौज गरेको घटना सार्वजनिक भएको छ। बसभित्र जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक यातायातमा यात्रुको सुरक्षा र मर्यादामाथि प्रश्न उठेको छ।
कात्तिक १७ गते सुदूरपश्चिम प्रदेश ०२००० ख १५६५ नम्बरको बसमा उक्त घटना भएको हो। सार्वजनिक भएको सीसीटीभी फुटेजमा तीन जना युवा आक्रोशित हुँदै महिला यात्रुलाई लक्षित गरी पटक–पटक अश्लील शब्द प्रयोग गरिरहेको देखिन्छ। उनीहरूको व्यवहारका कारण बसमा सवार अन्य यात्रुसमेत असहज र त्रसित भएको भिडियोमा देख्न सकिन्छ।यात्राका क्रममा अन्य यात्रुले पटक–पटक सम्झाउने र शान्त पार्ने प्रयास गरे पनि उनीहरूले आफ्नो व्यवहारमा सुधार नगरेको बताइएको छ। धादिङको धार्केदेखि नै मदिरा सेवन गरी होहल्ला गर्न थालेका उनीहरूले महेन्द्रनगरकै दुई जना महिला यात्रुलाई लक्षित गर्दै अभद्र व्यवहार र गालीगलौज गरेको बताइएको छ। बाटोमा खाना खान रोकिएको होटलमा समेत उनीहरूले होहल्ला गरेको जनाइएको छ।
महिला यात्रुमाथि दुर्व्यवहार गर्ने युवाहरू महेन्द्रनगरका समीर बिष्ट, अनिल नाथ योगी र जीवन बम रहेको बताइएको छ। यात्रुहरूको पटक–पटकको आग्रहलाई बेवास्ता गरेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि बुटवल चौराहामा प्रहरीले बस रोकेर तीनै जनालाई नियन्त्रणमा लिएको बताइएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि धनगढीस्थित प्रहरी हिरासतमा पठाइएको जनाइएको छ।
यता, बसका स्टाफका अनुसार घटनामा संलग्न युवाहरूलाई बुटवल प्रहरीको जिम्मा लगाइएको भए पनि त्यसपछि उनीहरूमाथि के–कस्तो कारबाही भयो भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुबाटै अर्को यात्रुमाथि यस्तो व्यवहार हुनु चिन्ताको विषय बनेको छ। यात्रुहरूका अनुसार बसभित्रै यस्ता गतिविधि हुने हो भने महिला तथा अन्य यात्रुले कसरी सुरक्षित र सहज रूपमा यात्रा गर्ने भन्ने प्रश्न उठेको छ।
सार्वजनिक यातायात केवल गन्तव्यसम्म पुग्ने माध्यम मात्र होइन, यात्रुहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्ने साझा जिम्मेवारी पनि हो। त्यसैले यस्ता घटनामा सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिएकामाथि कानुनअनुसार कारबाही गर्नुपर्ने माग उठेको छ। साथै, यातायात व्यवसायीले पनि यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता घटनाको रोकथामका लागि आवश्यक व्यवस्था गर्नुपर्ने देखिन्छ।
The post बसभित्रै महिला यात्रुमाथि अभद्र व्यवहार, सीसीटीभीले खोल्यो वास्तविकता appeared first on ✍️कञ्चन मिडिया📸.
