आज दीपावली, घरघरमा लक्ष्मीपूजा, लक्ष्मीलाई प्रसन्न पार्न नियम पालना गर्नुहोस्
आज दीपावलीको दिन घरघरमा धनकी देवी महालक्ष्मीको विधिपूर्वक पूजाआरधाना गरिँदैछ। वर्षभरि सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस् भन्ने जनविश्वाससहित आज माता लक्ष्मीलाई घरमा स्वागत गर्ने यो विशेष दिन हो। यस पवित्र अवसरमा घरमा माताको स्थायी बासका लागि केही महत्त्वपूर्ण नियम र अनुशासनको पालना गर्नु अनिवार्य मानिन्छ, अन्यथा घरमा भित्रिन लागेकी लक्ष्मीसमेत रिसाएर फर्किन सक्ने लोकविश्वास रहिआएको छ।
लक्ष्मीपूजाको दिन बिहान सबेरै उठेर घरको सरसफाइ गर्नु अत्यन्तै शुभ मानिन्छ। यस दिन झूट बोल्ने वा घरमा फोहोर राख्ने काम गर्नु हुँदैन भने मनमा दया र दानको भावना जागृत गराउनुपर्छ। आजको दिन नङ, दाह्री वा कपाल काट्ने जस्ता कार्य गर्नुहुँदैन। साथै, माछा-मासु, मदिरा तथा धूम्रपानको सेवन पूर्ण रूपमा वर्जित गरिएको हुनाले परिवारका सबै सदस्यले सकेसम्म सात्विक तथा शुद्ध शाकाहारी भोजन मात्र गर्नुपर्छ।
पूजाआरधाना गर्दा विधि र दिशामा विशेष ध्यान दिनुपर्छ। घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तर-पूर्व दिशामा एकसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ। पूजास्थलमा देवताहरूको स्थापना गर्दा बायाँबाट दायाँतर्फ क्रमशः भगवान गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्छ। त्यसपछि लक्ष्मण, राम र सीताको मूर्ति राखेर पूजा गर्नुपर्ने हुन्छ। विशेषगरी, देवी लक्ष्मीको पूजा गर्दा भगवान विष्णुलाई साथमा नराखी उपासना गर्नुहुँदैन, किनकि विष्णु बिनाको लक्ष्मी पूजा अपूरो मानिन्छ। यसैगरी, पूजाको थालनी गर्दा सर्वप्रथम प्रथम पूज्य गणेशको आराधना गर्नुपर्छ, जसमा गणेशजीको मूर्ति बसेको हुनुपर्छ भने सुँड दायाँतर्फ फर्केको हुनु हुँदैन।
पूजाका सामग्री र प्रक्रियामा पनि उत्तिकै सावधानी अपनाउनुपर्छ। लक्ष्मीपूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुहरूको मात्र प्रयोग गर्नुपर्छ जस्तै दियो, मैनबत्ती र फूलहरू रातो हुनुपर्छ। पूजा गर्दा शुद्ध घिउमा ११, २१ वा ५१ को संख्यामा दियो बालेर रातभरि नै दियो प्रज्वलित गरी उज्यालो कायम राख्नुपर्छ। पूजा कोठा सधैं सफा र सामग्रीहरू मिलाएर राखिएको हुनुपर्छ भने पूजा गर्दा ताली बजाउनु हुँदैन र ठूलो आवाजमा आरती समेत गाउनु हुँदैन।
देवी लक्ष्मी शान्तिप्रिय भएकाले आजको दिन परिवारका सदस्यहरूबीच कुनै किसिमको झगडा वा मनमुटाव हुनुहुँदैन। यसबाहेक, यदि कसैलाई उपहार दिन जाँदै हुनुहुन्छ भने छालाका वस्तुहरू धारण गर्नु वा उपहार दिनु हुँदैन, साथै उपहार दिँदा मिठाइ समेत थपेर दिनुपर्दछ। यी सम्पूर्ण नियम र अनुशासनलाई आत्मसात् गर्दै आजको पर्व मनाएमा घरमा सुख र समृद्धिको बास हुनेछ।
The post आज दीपावली, घरघरमा लक्ष्मीपूजा, लक्ष्मीलाई प्रसन्न पार्न नियम पालना गर्नुहोस् appeared first on ✍️कञ्चन मिडिया📸.
