निजी प्रयासमा राजमार्ग छेवैमा पिउने पानीको निरन्तर प्रवाह, जहाँ ८०० परिवारको प्यास मेटिन्छ..
कञ्चनपुर : भन्ने गरिन्छ, “शत्रुले पनि पानी मागेमा रिस-राग बिर्सेर पहिले पानी पिलाउनु पर्छ र तिर्खाएको कुकुरलाई पानी खुवाउँदा त धर्म हुन्छ भने मानिस त झन् भगवानको रूप हो।” हाम्रो नेपाली समाजमा परापूर्वकालदेखि चल्दै आएको यो रैथाने परोपकारी मान्यतालाई कञ्चनपुरका एक व्यवसायीले आफ्नो जीवनमा अक्षरशः उतारेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर यात्रा गर्ने जोकोहीले पनि सडक किनारमा पानी भर्न स्थानीय र यात्रीहरूको दृश्य अक्सर देख्ने गर्छन्। बाह्रै महिना, २४ सै घण्टा अविरल बगिरहने यो पानीको मुहानका लागि कुनै बिजुली वा मोटरको आवश्यकता पर्दैन। धर्तीको गहिरो सतह अर्थात् प्राकृतिक मुहानसम्म पाइप पुर्याइएका कारण यो पूर्ण रूपमा ‘अटोमेटिक’ (स्वचालित) रूपमा बग्ने विशेष मुहान हो। यो अनौठो र परोपकारी व्यवस्था स्थानीय व्यवसायी एवं समाजसेवी सुरेन्द्र बमको एकल लगानी र सामाजिक भावनाका कारण सम्भव भएको हो।
राजमार्गकै छेउमा सञ्चालित ‘होटल इटन पार्क’ को परिसरभित्र गाडिएको यो बोरिङबाट विस्तारित पानीले अहिले सो क्षेत्रका करिब ८०० घरपरिवार र राजमार्गका यात्रीहरूको तिर्खा मेटाइरहेको छ। कृष्णपुर वडा नं. २ र आसपासका क्षेत्रमा विगतमा स्वच्छ खानेपानीको निकै ठूलो संकट थियो। गाउँमा सरकारी खानेपानीको सुविधा नभएका कारण स्थानीय बासिन्दाहरू घरमा गाडिएका साधारण नल्का (ह्यान्डपम्प) को भर पर्न बाध्य थिए। तर, ती नल्काहरूमा कतै बालुवा मिसिएको त कतै अत्यधिक आइरनयुक्त रातो पानी आउने समस्याले गर्दा स्थानीय नागरिकहरूमा पिउने पानीका लागि एक किसिमको समस्या आइपरेको थियो।
स्थानीयको यही सास्ती र समस्यालाई नजिकबाट नियालेका समाजसेवी सुरेन्द्र बमले आजभन्दा १५ वर्ष अगाडि एउटा ठूलो परोपकारी निर्णय लिए। उनले आफ्नो होटल परिसरभित्रै झन्डै १४ लाख रुपैयाँको ठूलो निजी लगानीमा धर्तीको निकै गहिरो सतह—जहाँ सफा, शुद्ध र स्वच्छ मुहान अवस्थित छ—त्यहाँसम्म पुग्ने गरी विशेष बोरिङ गराए। जमिनमुनिको प्राकृतिक जलप्रवाह र उच्च चापका कारण यसमा पानी तान्नका लागि कुनै मोटर जोडिरहनु परेन, पानी स्वतः बाहिर आउने प्रकृतिको रह्यो।
हाम्रो धार्मिक ग्रन्थहरूमा “सय वटा इनार खन्नु भन्दा एउटा तिर्खाएको बटुवालाई पानी पिलाउनु उत्तम हुन्छ” भनिए झैँ सुरुमा होटल परिसरमा मात्रै सीमित रहेको यो पानी लिन स्थानीयलाई केही असहज भएपछि बमले यसलाई समुदायको हितका लागि विस्तार गर्ने योजना बुने। वरपरका बासिन्दाहरू सजिलै आउन र बाल्टी,बोत्तल, जर्किनमा पानी भर्न सहज होस् भन्नका लागि उनले पाइपलाइन विस्तार गर्दै पूर्वपश्चिम महेन्द्र राजमार्गको किनारसम्मै पुर्याए। पानी भर्ने ठाउँलाई हिलो नबोस भनी आकर्षक ढंगले ढलान समेत गरिएको छ। यस क्रममा होटलभन्दा उत्तरतर्फ रहेको व्यस्त राजमार्गलाई काटेर सडकको माथिल्लो छेउ (किनार) सम्म पानीको निकास पुर्याउनु पर्ने ठूलो प्राविधिक चुनौती थियो। त्यसका लागि समाजसेवी बमले आफ्नै खल्तीबाट सडक विभागलाई नियम अनुसार ३५ हजार रुपैयाँ राजस्व बुझाएर राजमार्ग खन्न लगाई पाइप व्यवस्थापन गरे र पुनः सडक मर्मत गराए।
यो बोरिङ केवल स्थानीय बासिन्दाका लागि मात्र नभई पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने हजारौँ मानिसका लागि एकैछिनको थकान मा”र्नका लागि भएपनि रोकिने ठाउँ र प्यास मेट्ने मुख्य थलो बनेको छ। राजमार्गमा हिँड्ने पैदल यात्रु (बटुवा), चर्को घाममा लामो दुरी तय गर्ने साइकल यात्री, र मोटरसाइकल, बस तथा ट्रक जस्ता सवारी साधनका चालक एवं यात्रीहरू समेत यहाँ गाडी रोकेर पानी पिउने र आफ्नो जर्किन वा बोतल भर्ने गर्छन्। तिर्खाले व्याकुल भएका यात्रीहरूका लागि चौबीसै घण्टा उपलब्ध यो निःशुल्क र शुद्ध पानी ठूलो राहत सिद्ध भएको छ। पहिलेको तुलनामा अहिले प्राकृतिक मुहानहरू सुक्दै जाने क्रम बढेकाले शुरुका वर्षहरू जस्तो ठूलो मात्रामा नभए पनि यो अटोमेटिक धाराबाट अझै पनि पर्याप्त रूपमा अविरल पानी बगिरहेको छ।
एक व्यक्तिको नीजि प्रयासमा स्थापित यो धाराले समुदायमा पुर्याएको योगदान अतुलनीय छ। राज्यले अर्बौँ खर्च गर्दा पनि नागरिकले स्वच्छ खानेपानी नपाइरहेको अवस्थामा, कञ्चनपुरका सुरेन्द्र बमले १५ वर्ष अघि सुरु गरेको यो सत्कर्म स्थानीय स्तरमा मात्र नभई देशैभरिका अन्य सक्षम नागरिक र व्यवसायीका लागि पनि एउटा उत्कृष्ट र उदाहरणीय प्रेरणाको विषय बनेको छ।
