September 5, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

चिलीको त्यो ऐतिहासिक घटना: सुरुङमा फसेका ३३ मजदुरको ६९ दिनपछि उद्धार

कञ्चन ब्युरो: सन् २०१० को अगस्ट ५ मा चिलीको अटाकामा मरुभूमिमा रहेको सान होजे तामा तथा सुन खानी अचानक भत्कियो। जमिनभन्दा करिब ७०० मिटर (२,३०० फिट) तल काम गरिरहेका ३३ जना मजदुर सुरुङभित्रै थुनिन पुगे। खानीको मुख्य प्रवेशद्वार पूर्ण रूपमा थुप्रिएको चट्टानले बन्द भयो भने आपत्कालीन अवस्थामा बाहिर निस्कने सिँढी (Emergency Ladder) समेत नियम विपरीत राखिएको थिएन। त्यसबेला बाहिरका मान्छेहरूलाई लागेको थियो— अब ती मजदुरहरूको जीवितै फर्किने सम्भावना लगभग समाप्त भयो।

​शुरुआती केही दिनको उद्धार प्रयास असफल भएपछि परिवारका सदस्य र सरकार पनि निराश बन्दै गएका थिए। जमिनमुनि थुनिएका ३३ जना मजदुरसँग जम्मा दुई दिनलाई पुग्ने आपत्कालीन खाद्यान्न मात्रै थियो। उनीहरूले अत्यन्तै सावधानी अपनाउँदै दुई दिनमा एकपटक मात्रै थोरै ट्यूना माछा र विस्कुट बाँडेर खाए। सुरुङभित्र पानीको स्रोत र खानीका मेसिनका रेडिएटरबाट निस्किएको पानी पिएर उनीहरूले बाच्ने संघर्ष गरे। झन्डै ३५ डिग्री सेल्सियस तापक्रम र उच्च आर्द्रताका कारण उनीहरू निसासिन थालेका थिए।

​दुर्घटना भएको १७ दिन हुँदा सम्म उनीहरूसँग बाहिरी दुनियाँको कुनै सम्पर्क थिएन। तर, जब उद्धारकर्ताहरूले जमिनमुनि प्वाल पार्न (Drilling) साना ड्रिलिङ रडहरू पठाए, भित्र रहेका मजदुरहरूले त्यसमा हथौडाले ठोकेर संकेत दिए। जब ड्रिल मेसिन बाहिर निकालियो, त्यसको टुप्पोमा टाँसिएको एउटा सानो चिठी भेटियो जसमा लाल अक्षरले स्पेनिस भाषामा लेखिएको थियो—

“Estamos bien en el refugio los 33” (हामी आश्रयस्थलमा ३३ जना नै सकुशल छौँ)

 

​यो वाक्य बाहिरिनेबित्तिकै चिली मात्र होइन, सिंगो विश्वमा खुसीको आँसु र उत्सव छायो। १७ दिनसम्म मृ’त ठानेका मानिसहरू जीवित रहेको खबरले विश्वभर सनसनी मचायो।

​मजदुरहरू जीवित रहेको थाहा भएपछि उनीहरूसम्म जीवन बचाउने सामग्रीहरू पठाउन सुरु गरियो। डेढ मिटर लामो नीलो रंगको प्लास्टिकको क्याप्सुल (जसलाई परेवा वा Palomas भनिन्थ्यो) को माध्यमबाट सुरुङभित्र ग्लुकोज, पानी, अक्सिजन, सञ्चार उपकरण र औषधिहरू पठाइयो।

​त्यसपछि चिली सरकारले अमेरिकी अन्तरिक्ष संस्था नासा (NASA) का वैज्ञानिकहरू, खानी विज्ञहरू र विश्वभरका उच्चस्तरीय इन्जिनियरहरूको सहायता लियो। जमिनमुनि बस्दा उनीहरूलाई मानसिक रूपमा स्वस्थ राख्न भिडियो क्यामेरा, संगीत र परिवारका पत्रहरू पठाइयो। ७०० मिटर गहिराइमा रहेका ती मजदुरहरूले आपसमा पूर्ण प्रजातान्त्रिक अभ्यास गर्दै टिमवर्क, अनुशासन र एकअर्काको आत्मबल जोगाएर राखेका थिए।

​मजदुरहरूलाई बाहिर निकाल्न तीनवटा भिन्न प्रविधिबाट सुरुङ खन्ने काम (Plan A, B, C) तीव्र पारिएको थियो। अन्ततः ‘प्लान बी’ अन्तर्गतको ड्रिलिङ मेसिनले अक्टोबर ९ का दिन ती मजदुरहरू भएको कक्षसम्म सुरुङ प्वाल पार्न सफलता पायो।

​उनीहरूलाई एक-एक गरी सुरक्षित बाहिर निकाल्नका लागि विशेष रूपमा डिजाइन गरिएको ‘फिनिक्स’ (Phoenix) नामक साँघुरो स्टिलको क्याप्सुल तयार पारियो।

​अक्टोबर १३, २०१० का दिन करिब २२ घण्टा लामो उद्धार अपरेशन चलाइयो। एक-एक गरी सबै ३३ जना मजदुरलाई त्यो स्टिलको क्याप्सुलमार्फत सुरक्षित रूपमा सतहमा निकालियो। जमिनमा निस्कनेबित्तिकै उनीहरूले आफ्ना परिवारलाई अँगालो हाले। यो सम्पूर्ण घटनालाई प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका करिब १ अर्बभन्दा बढी मानिसहरूले हेरेका थिए।

​विपद्को सुरुवाती दिनहरूमा जति नै निराशा र शंका उत्पन्न भए पनि, सही समयको दृढ संकल्प, खोज, अध्ययन र प्रविधिको उच्च प्रयोगले असम्भव जस्तो लाग्ने कामलाई पनि सम्भव बनाउन सक्छ भन्ने इतिहासको सबैभन्दा ठूलो पाठ हो – चिलीको यो खानी उद्धार काण्ड।

Copyright © All rights reserved. | Newsphere by AF themes.