अत्तरियामा सडक लेन अनुशासनबारे डेमो कार्यक्रम, छ लेन सडकमा जनचेतनामूलक बोर्ड पनि राखिने
अत्तरिया, कैलाली।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक कार्यालय कैलालीको आयोजनामा सडक लेन अनुशासन सम्बन्धी जनचेतनामूलक डेमो कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा गोदावरी नगरपालिकाको दमकल, मालाखेती अस्पताल र नवजीवन अस्पतालका एम्बुलेन्स, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का बस, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका सवारीसाधन, स्थानीय अटो, मोटरसाइकल लगायतका विभिन्न सवारीसाधनलाई सडकको लेन अनुशासन पालना गर्दै सञ्चालन गरी व्यवहारिक प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रमुख एसपी नवराज कार्की, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख, गोदावरी नगरपालिका–१ का वडा अध्यक्ष गोपाल भट्ट, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द लगायत स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
ट्राफिक प्रमुखका अनुसार सडक प्रयोगकर्तामा लेन अनुशासनबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ। त्यसैले सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
त्यसैगरी, अत्तरियाको छ लेन सडकखण्डमा लेन अनुशासन सम्बन्धी चित्रसहितका जनचेतनामूलक बोर्ड राख्ने तयारी पूरा भएको छ। आवश्यक अनुमति प्राप्त हुनासाथ ती बोर्डहरू जडान गरिने जानकारी दिइएको छ।
उक्त बोर्डहरू नवजीवन अस्पताल, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि. र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सौजन्यमा निर्माण गरिएको हो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक कार्यालय कैलालीको सहकार्यमा जडान गरिनेछ।
ट्राफिक प्रहरीले पछिल्लो समय हुने अधिकांश सडक दुर्घटना तीव्र गति तथा लेन अनुशासनको पालना नगर्नु प्रमुख कारणका रूपमा देखिएको जनाएको छ। त्यसैले सबै सडक प्रयोगकर्तालाई लेन अनुशासन पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ
