गेटा विश्वविद्यालयमा कृष्णपुर नगरपालिकाको सरसफाइ अभियान, डा. गोविन्द केसीको अनशन बारे विभिन्न टिप्पणी..
कैलाली, साउन १०। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा कृष्णपुर नगरपालिकाले आइतबार वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। विश्वविद्यालय परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानमा नगर प्रमुख हेमराज ओझाको नेतृत्वमा नगरपालिकाको टोली सक्रिय रूपमा सहभागी भएको थियो।
अभियानअन्तर्गत विश्वविद्यालय परिसरभित्र रहेका झाडी हटाउने, घाँस काट्ने, मैदान सफा गर्ने तथा जमिन सम्याउने काम गरिएको थियो। सरसफाइलाई प्रभावकारी बनाउन डोजर, ट्र्याक्टरलगायत हेभी उपकरणसमेत प्रयोग गरिएको थियो।
विश्वविद्यालय प्रशासनले केही दिनअघि सार्वजनिक रूपमा सबै स्थानीय तह, संघ–संस्था तथा नागरिकलाई सरसफाइ अभियानमा सहभागी हुन आह्वान गरेपछि परिसरमा निरन्तर सरसफाइ भइरहेको छ। कृष्णपुर नगरपालिकाको आजको सहभागितालाई स्थानीयले विश्वविद्यालयको वातावरण सुधार तथा सामुदायिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्।
यसैबीच, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी भने धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट सुरु गरेको २४औँ आमरण अनशनका सुरु गरेका थिए। उनले चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित केही नियुक्ति खारेज गर्न, राजनीतिक हस्तक्षेप रोक्न तथा चिकित्सा शिक्षा सुधारसम्बन्धी आफ्ना माग कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो स्वास्थ्य अवस्थाका कारण उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको समाचार सार्वजनिक भएको छ।
सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा भने फरक–फरक धारणा पनि देखिएका छन्। केही स्थानीय, जानकार तथा सुदूरपश्चिमका युवाहरूले डा. केसीले विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको समयमा आन्दोलन सुरु गरेकाले यसले विश्वविद्यालयको सकारात्मक पक्ष ओझेलमा पर्न सक्ने तर्क गरिरहेका छन्।
डा. केसीले गर्ने आन्दोलनको उद्देश्य विश्वविद्यालयलाई कमजोर बनाउनु नभई चिकित्सा शिक्षा क्षेत्रमा पारदर्शिता, सुशासन र मापदण्डअनुसारका नियुक्तिको सुनिश्चितता गराउनु यदि हो भने उनले काठमाडौँमै बसेर आन्दोलन गर्नुपर्ने कतिपयको ठम्याइरहेको छ।
यसरी विश्वविद्यालय परिसरलाई व्यवस्थित र सञ्चालनयोग्य बनाउन स्थानीय तह र विश्वविद्यालय बीचको सहकार्यले सुदूरपश्चिम मात्र नभई पुरै देशलाई सामुदायिक उत्तरदायित्व र स्वच्छ वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको छ ।
