August 17, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

नागपञ्चमी: धार्मिक, सांस्कृतिक महत्व र हाम्रो परम्परा

कञ्चनपुर : आज परम्पराअनुसार विधिपूर्वक नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिएकोमा यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको छ। हिन्दू धर्मशास्त्रमा साउन महिनालाई भगवान शिवको आराधना गर्ने विशेष महिनाका रूपमा लिइन्छ भने यसको पञ्चमी तिथि नागहरूको पूजाका लागि समर्पित छ। हिन्दु परम्परा अनुसार यस दिन घरका मूलढोकामा नागको तस्बिर टाँसिने र नाग देवताको पूजा गरिन्छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने हुनाले हिन्दु धर्ममा नागलाई भगवान् विष्णु र शिवका रूपमा पनि मान्ने गरिएको छ।

​नागपञ्चमी मनाउनुको पछाडि प्रकृतिको रक्षा, सर्पप्रतिको सद्भाव र गहिरो धार्मिक मान्यता जोडिएको छ। पौराणिक ग्रन्थ तथा जनविश्वास अनुसार एक किसानले खेत खन्ने क्रममा सर्पका बच्चालाई चोट पुर्‍याउँदा नागमाता रिसले चुर भएर किसानको परिवारलाई डस्न पुग्छिन्। तर किसानकी कान्छी छोरीले दूधको कचौरा अर्पण गर्दै क्षमा माग्दा नागमाता प्रसन्न भई परिवारलाई जीवनदान दिन्छिन् र त्यही दिनदेखि यो पर्वको थालनी भएको मानिन्छ। यसैगरी समुद्र मन्थनका समयमा भगवान शिवले कालकुट विष सेवन गर्दा संसारलाई बचाउन सहयोग गर्ने नागहरूप्रति कृतज्ञता व्यक्त गर्न पनि यसको विशेष महत्व रहेको छ। घरको मूलढोकामा नागको तस्बिर विधिपूर्वक टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने जनविश्वास रहिआएको छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने सामाजिक तथा धार्मिक मान्यता छ।

​नेपालमा नागपञ्चमीको सांस्कृतिक स्वरूप निकै जीवन्त र मौलिक छ। आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरिन्छ। नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर ररोटीलगायतका परिकार तथा प्रसाद चढाउने गरिन्छ। घरपरिवारलाई सर्पको भयबाट मुक्त राख्ने, प्रकृतिका जीवहरूसँग सहअस्तित्व कायम गर्ने र पर्यावरणको रक्षा गर्न यो पर्वले महत्वपूर्ण संदेश दिने गरेको छ। नाग पञ्चमीको यो शुभ अवसरसँगै नेपालीहरूको महान चाडपर्वहरूको याम पनि औपचारिक रूपमा सुरु भएको मानिन्छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.