August 16, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

क्रिकेट प्रेमी युवाहरूलाई लक्षित गर्दै शुक्लाफाँटामा न्यूनतम शुल्कमा पहिलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने

झलारी : कञ्चनपुरका क्रिकेट प्रेमी युवाहरूका लागि अब आफ्नै ठाउँमा बसेर खेल कौशल तिखार्ने सुनौलो अवसर जुरेको छ। विगतमा छिटपुट रूपमा सञ्चालन हुँदै आएका खेलकुद गतिविधिलाई अब नयाँ जोस, परिमार्जित रणनीति र व्यावसायिक तयारीका साथ अगाडि बढाउने तयारी गरिएको छ। यसै क्रममा क्रिकेट प्रतिको उच्च क्रेज र स्थानीय प्रतिभालाई तिखार्दै बलियो स्थान दिन पहिलो पटक व्यवस्थित एकेडेमी सञ्चालनमा आउन लागेको छ, जसले खेलप्रेमी युवाहरूमा नयाँ उत्साह थपेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘शुक्लाफाँटा ब्ल्याकबक्स क्रिकेट एकेडेमी’ सञ्चालनमा आउने भएको छ। शुक्लाफाँटा कृष्णसार फाउन्डेसनद्वारा वडा नम्बर ४ स्थित खेलमैदानमा सञ्चालन हुन लागेको यस एकेडेमीले स्थानीय युवा खेलाडीलाई दक्ष बनाउने लक्ष्य लिएको छ। भदौको पहिलो सातादेखि औपचारिक रूपमा सुरु हुने यस एकेडेमीको उद्घाटन प्रतिनिधिसभा सदस्य दीपक बोहराले गर्ने कार्यक्रम रहेको छ। हालै आयोजित पत्रकार सम्मेलनमार्फत फाउन्डेसनका अध्यक्ष विवेक रावलले स्थानीय स्तरमा क्रिकेटको विकास गर्दै नयाँ प्रतिभाहरू उत्पादन गर्न एकेडेमीको थालनी गरिएको जानकारी दिए।

​यस एकेडेमीमा ६ देखि १९ वर्ष उमेर समूहका ५० जना बालबालिका तथा युवा खेलाडीलाई भर्ना गरी नियमित प्रशिक्षण दिइनेछ। स्थानीयस्तरमै स्तरीय प्रशिक्षणको व्यवस्था भएपछि यहाँका खेलाडीहरू अभ्यासका लागि अब धनगढी वा महेन्द्रनगर धाउनुपर्ने बाध्यता हट्नेछ, जसले गर्दा खेलाडीहरूलाई पढाइ र खेललाई सँगै अगाडि बढाउन सहज हुनेछ। एकेडेमीको व्यवस्थापन तथा सञ्चालनका लागि अध्यक्ष विवेक रावलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ जसमा हरिश अवस्थीलाई व्यवस्थापनको जिम्मेवारी तथा प्रविन हमाल र राज सुनारलाई अनुशासन इन्चार्जको जिम्मा दिइएको छ।

​एकेडेमीको मुख्य प्रशिक्षकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अनुभव सँगालेका साजन गौतम रहेका छन् भने उनलाई राष्ट्रिय क्रिकेट खेलाडीहरू कैलाश ऐर र अशोक विष्टले सहकार्य गर्नेछन्। यहाँ ब्याटिङ, बलिङ, फिल्डिङ र विकेटकिपिङ जस्ता आधारभूत सीपका साथै फन्डामेन्टल मुभमेन्ट, स्ट्रेन्थ एन्ड कन्डिसनिङ, स्पिड तथा रियाक्सन ट्रेनिङ समावेश गरिनेछ। यसबाहेक खेलाडीको शारीरिक तथा मानसिक विकास, चोटपटकबाट बच्ने उपाय, क्रिकेट आईक्यू र दीर्घकालीन खेलाडी विकासमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.