घुमाउरो सडकमा झाडीले बढाएको दुर्घटनाको जोखिम, सत्ती–टीकापुर सडक सरसफाइ
टीकापुर । एकतर्फी र घुमाउरो सडकसँगै सडकको दुवैतर्फ बढेको झाडीका कारण दुर्घटनाको उच्च जोखिम रहेको टीकापुर–सत्ती सडकखण्ड सरसफाइ गरिएको छ।
सडकमा बढेको झाडीले चालकको दृश्यता कमजोर बनाउनुका साथै विपरीत दिशाबाट आउने सवारीसाधन नदेखिने अवस्था सिर्जना भएपछि सडक छेउका झाडी हटाउने कार्य गरिएको हो।
प्रहरी चौकी का इन्चार्ज प्रहरी नायब निरीक्षक ऐनबहादुर पाल, ट्राफिक प्रहरीका वरिष्ठ हवल्दार तारा सिंह बिष्ट, सहायक हवल्दार देविभक्त धिताल, जनपद प्रहरी ,बृहत् खबर का पत्रकार गणेश क्षेत्री सुन्दर सुदूरपश्चिम यातायात प्रालि सत्ती काउन्टरका कर्मचारी विज्ञान श्रेष्ठ, चालक दमन सिंह लगायत स्थानीयको सहयोगमा झाडी सफा गर्ने कार्य सम्पन्न गरिएको हो।
यसअघि पनि सत्ती ट्राफिक प्रहरीले सत्ती पुलदेखि बेलुवा चोकसम्म सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा सडकमा बढेका बाँसका झाडी हटाउने लगायतका काम गर्दै आएको सहायक हवल्दार देविभक्त धितालले बताए।
उनका अनुसार सडकको अवस्था सुधार गर्दै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रहरी, यातायात व्यवसायी, चालक तथा स्थानीयको सहकार्य आवश्यक रहेको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि जोखिमयुक्त स्थान पहिचान गरी आवश्यक कामलाई निरन्तरता दिइने जनाइएको छ।
