प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सुदूरपश्चिम तेक्वान्दो संघको आह्वान, कराँते महासंघको पनि साथ
धनगढी: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको प्रति सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विपद्को यस विषम परिस्थितिमा मानवीय संवेदना, आपसी सहयोग र राष्ट्रिय एकताको भावनाका साथ पीडित नागरिकको उद्धार तथा पुनःस्थापनामा सहयोग गर्नु सबैको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकार तथा सम्बन्धित निकायको एकद्वार प्रणाली र समन्वयभित्र रही उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन संघले सम्पूर्ण तेक्वान्दो खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी, सम्बद्ध संघ-संस्था तथा सामाजिक अभियन्ताहरूलाई ऐक्यबद्ध भई सहयोग गर्न अपिल गरेको छ।
संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह द्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार सहयोग गर्न चाहने महानुभावहरूले आफ्नो गच्छे अनुसारको रकम नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गर्न अनुरोध गरिएको छ। जम्मा गरिएको रकमको रसिद वा भौचर संघको आधिकारिक इमेल (tsudurpaschim@gmail.com) मा पठाइदिन समेत आग्रह गरिएको छ। नेपाल तेक्वान्दो संघले पनि राष्ट्र संकटमा परेको बेला, सबै मिली यस दुखद घडीमा सहयोग गरिदिन अनुरोध गरीसकेको छ।
सुदूरपश्चिम प्रदेश कराँते महासंघद्वारा पनि आर्थिक सहयोगको आह्वान
यसैगरी, सुदूरपश्चिम प्रदेश कराँते महासंघले पनि बाढीपीडितको सहयोगका लागि आर्थिक रकम संकलन गर्ने निर्णय गरेको छ। महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेद्वारा जारी सूचना अनुसार सम्पूर्ण कराँते खेलाडी, प्रशिक्षक, निर्णायक तथा पदाधिकारीहरूलाई “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा स्वैच्छिक रकम जम्मा गर्न अनुरोध गरिएको छ।
यसरी पीडितहरूलाई राहत पुऱ्याउन खेलकुद क्षेत्रका संस्थाहरू ऐक्यबद्ध भएर अगाडि बढेका छन्। सुदूरपश्चिम प्रदेशका तेक्वान्दो र कराँते सम्बद्ध संस्थाहरूले प्रेस विज्ञप्ति तथा अपिल पत्र जारी गर्दै आफ्ना खेलकर्मी र आम नागरिकलाई राहत कोषमा सहयोग गर्न आह्वान गरेका हुन्।
