श्री उदय मा.वि.मा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई भव्य स्वागत..
कञ्चनपुर: कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा अवस्थित श्री उदय माध्यमिक विद्यालयले आज कक्षा ११ का नवागन्तुक विद्यार्थीहरुको स्वागतमा एक विशेष समारोह आयोजना गरेको छ। विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले ११ का नवआगन्तुक विद्यार्थीहरुलाई हार्दिक स्वागत तथा खादा टीका लगाई सम्मान अर्पण गरेका थिए। कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा पछि गएर कक्षा १२ का विद्यार्थीहरुलाई कक्षा ११ का विद्यार्थीहरूले विदाई कार्यक्रम गर्ने परिपाटी रहि आएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि समावेश गरिएको थियो, जसले वातावरणलाई थप उल्लासमय बनाएको थियो।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख श्री हेमराज ओझा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै, विद्यार्थी संख्या बढ्नुले विद्यालयको शैक्षिक गुणस्तरमा आएको सकारात्मक परिवर्तनलाई संकेत गरेको बताउनुभयो। विद्यार्थीहरूलाई बस्ने कोठाको अभाव भएमा नगरपालिकाले अन्य बजेट कटौती गरेर भए पनि विद्यालयमा थप लगानी गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएका कृष्णपुर वडा नम्बर २ का वडा अध्यक्ष श्री अर्जुन बहादुर साउदले आफू पनि यसै विद्यालयको उत्पादन भएको गर्व गर्नुभयो। विद्यालयले विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरु उत्पादन गरेको र समाजमा राम्रो छवि कायम राख्न सफल भएको उहाँले बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जीत बहादुर चौधरीले अनुशासन विद्यार्थीको गहना भएको र शिक्षा, संस्कार र अनुशासनको महत्त्व विद्यार्थीको जीवनमा अपरिहार्य रहेकोमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरुलाई नैतिक शिक्षा प्रदान गरी सभ्य नागरिक बनाउन विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो।
विद्यालयले स्थानीय स्तरमा लामो समयदेखि आफ्नो राम्रो छवि कायम राख्न सफल भएको छ। हालै, विद्यालयकी छात्रा बिमला भट्टले कक्षा १२ मा कृष्णपुर नगरपालिकाभरि नै सबैभन्दा बढी जीपीए ल्याएर उत्कृष्ट बन्न सफल भएकी छिन्। उनको यो सफलताले विद्यालयको गौरव बढाएको छ। त्यसैगरी, नेपाली सेनाबाट सञ्चालन भएको एनसीसी जुनिएर तालिममा देशभरिबाट सहभागी ८ हजारभन्दा बढी विद्यार्थीहरु मध्यबाट उत्कृष्ट भई यसै विद्यालयकी विद्यार्थी लक्ष्मी पाण्डे डिजर्ट सफारी युवा विचार आदानप्रदान २०२६ कार्यक्रममा छनोट भई विदेशको भ्रमणमा जाँदै छिन्, यो विद्यालयको लागि अर्को खुसीको कुरा हो।
विद्यार्थीहरुको स्वागतमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, अभिभावक र स्थानीय समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षिका नारु देवी पाण्डेले गर्नुभएको थियो।
कार्यक्रमसँग सम्बन्धित फोटोहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।
