September 15, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुरमा धुमधामसँग तीज, सांस्कृतिक उत्सवसँगै विपदका लागी राहत संकलन

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला स्थित राधाकृष्ण मन्दिरको परिसरमा हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा एक भव्य तीज विशेष कार्यक्रम गरिएको छ। यस कार्यक्रममा स्थानीय बासिन्दा तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। २०८३ साल भाद्र २९ गते आयोजित यस कार्यक्रममा, मन्दिर परिसरमा भेला भएका महिलाहरूले परम्परागत तीजका गीतहरूमा नाचगान गर्दै आपसमा शुभकामना आदानप्रदान गरेका थिए र पर्वको मर्म र सांस्कृतिक महत्वलाई उजागर गर्दै स्थानीय युवा तथा समितिहरूको सक्रिय सहयोगमा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

​कार्यक्रमको अवसरमा रसुवा बाढी पीडितहरूका लागि सहयोग रकम समेत संकलन गरिएको थियो। यस क्रममा कुल जम्मा रु. ५८,६९२ रकम सङ्कलन गरिएको थियो भने कार्यक्रम सञ्चालन तथा व्यवस्थापन र २ दिनको सम्पूर्ण खर्च रु. २७,०३० भएको छ। कुल आम्दानीबाट खर्च कटाएर बाँकी खुद बचत रकममध्ये रु. ३१,५०५ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।

यस कार्यक्रमको एक अत्यन्तै सराहनीय पक्ष सामाजिक उत्तरदायित्व बहन गर्नु रहेको छ। जसले स्थानीय स्तरमा निकै सकारात्मक सन्देश प्रवाह गरेको छ। उक्त आर्थिक तथा कार्यक्रम व्यवस्थापन कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि राजेन्द्र प्रसाद विष्ट, कबिन्द्र धामी, अनिल जोशी र महेश राज जोशीको आर्थिक संकलन समिति गठन गरिएको थियो। तीज कार्यक्रम सम्पन्न भएपछि आज मन्दिर प्राङ्गण पनि सरसफाई गरिएको छ।

​यसैगरी, कृष्णपुरकै वडा नम्बर २ स्थित वाणी बजारको खुला मञ्चमा पनि हरितालिका तीज तथा देउडा विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। रसुवा भोटेकोशी बाढीपीडितहरूका लागि राहत संकलन गर्ने उद्देश्यसहित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूह कृष्णपुर २ वाणी, कञ्चनपुरको आयोजना तथा साथी कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा वाणी बजारको खुला मञ्चमा महिलाहरूको बाक्लो उपस्थितिमा तीजका गीत तथा देउडा खेलतमा नाचगानसहित विभिन्न सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएका थिए। राहत संकलन अभियानअन्तर्गत श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहकोतर्फबाट रु. ११ हजार १ सय ११ सहित कुल २६ हजार ६ सय ५३ रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो।

त्यस्तै कृष्णपुर नगरपालिका–१, निगाली स्थित विशाल सा.ब.को आयोजनामा, स्वास्थ्य एकाइ कार्यालय निगालीको प्राङ्गणमा पनी साङ्गीतिक, सांस्कृतिक नाचगानका साथ हरितालिका तीज कार्यक्रम मनाइएको छ ।

यी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सामूहिक एकता, सांस्कृतिक जगेर्ना र विपदमा परेकाहरूलाई सहयोग गर्ने भावनासहित कृष्णपुरका विभिन्न वडामा सम्पन्न गरिएका कार्यक्रमहरूले स्थानीय समुदायमा ठूलो उत्साह, सद्भाव र प्रेरणा जगाएका छन्।

The post कृष्णपुरमा धुमधामसँग तीज, सांस्कृतिक उत्सवसँगै विपदका लागी राहत संकलन appeared first on .

Copyright © All rights reserved. | Newsphere by AF themes.