कञ्चनपुरमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नाराका साथ हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न, रिज एकेडेमी प्रथम
कृष्णपुर: कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा ६२औँ राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकाको बौद्धिक विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नगरस्तरीय विद्यालय हाजिरीजवाफ प्रतियोगितामा रिज एकेडेमी स्कुलले पहिलो स्थान हात पार्न सफल भएको छ।
गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिकाभित्रका २२ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। ‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने सार्थक नाराका साथ आयोजित यस कार्यक्रमले विद्यार्थीहरूबीच सिकाइको स्तर मापन गर्ने र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने महत्त्वपूर्ण अवसर जुराएको थियो।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख द्रोपती रानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो। अशोक सिंह धामीको सभाध्यक्षतामा सम्पन्न सो समारोहमा विभिन्न वडाका वडाध्यक्षहरू, शिक्षा शाखाका प्रमुख, विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय अभिभावक, पत्रकार र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्धारित १५ वटा विशेष नियमहरूको परिधिभित्र रही सञ्चालन गरिएको कडा प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै कृष्णपुर–६, मौरिफाँटामा अवस्थित रिज एकेडेमी स्कुलले उत्कृष्ट प्रदर्शनसहित प्रथम स्थान हासिल गर्यो। त्यसैगरी, प्रतियोगितामा सनलाइट माध्यमिक विद्यालयले द्वितीय स्थान प्राप्त गर्यो भने उदय माध्यमिक विद्यालय तृतीय र कृष्ण माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भए।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यालयहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। सान्त्वना स्थान हासिल गर्ने टिमलाई पनि ट्रफी र प्रमाणपत्रले सम्मानित गरिएको थियो। यस प्रकारका रचनात्मक तथा शैक्षिक कार्यक्रमहरूले बालबालिकामा अध्ययनप्रतिको रुचि जगाउनुका साथै उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
The post कञ्चनपुरमा ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नाराका साथ हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न, रिज एकेडेमी प्रथम appeared first on .
