September 22, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

लालझाडी गाउँपालिकामा ८ करोड १५ लाखमा ३ तले नयाँ प्रशासकीय भवन बन्दै

कञ्चनपुर। लालझाडी गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु गरेको छ। गाउँपालिकाले ३ तले प्रशासकीय भवन निर्माण गर्न लागेको हो। गाउँपालिकाबाट प्रदान हुने सबै सेवा एउटै भवनबाट उपलब्ध गराउने उद्देश्यले नयाँ प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए।

उनका अनुसार भवन निर्माणका लागि ८ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। भवन निर्माणको जिम्मा डडेल्धुराको रुद्रावती निर्माण सेवाले पाएको छ। गाउँपालिका र निर्माण कम्पनीबीच २०८३ असार २३ गते भवन निर्माण सम्झौता भएको थियो।

सम्झौताअनुसार २०८४ पुस मसान्तभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। नयाँ भवन निर्माण भएपछि गाउँपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा एउटै स्थानबाट उपलब्ध गराउन सहज हुने प्रमुख प्रशासकीय अधिकृत सार्कीले बताए।

‘हाल छुट्टाछुट्टै भवन तथा सीमित संरचनाबाट सेवा दिनुपर्ने अवस्था छ, नयाँ भवन निर्माण भएपछि गाउँपालिकाका सबै सेवा व्यवस्थित र सहज रूपमा एउटै भवनबाट प्रवाह गर्न सकिनेछ,’ उनले भने। गाउँपालिका स्थापना भएदेखि नै सीमित भौतिक संरचनाबाट सेवा प्रदान गर्दै आएको छ।

२०७४ सालदेखि गाउँपालिकाले सानो भवनबाट प्रशासनिक तथा सेवा प्रवाहका काम सञ्चालन गर्दै आएको थियो। नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए।

उनका अनुसार भवनमा आवश्यक शाखा तथा सेवाका लागि पर्याप्त स्थानको व्यवस्था गरिने भएकाले कर्मचारीलाई समेत काम गर्न सहज हुनेछ। ‘गाउँपालिकाको आवश्यकता र बढ्दो सेवा प्रवाहलाई ध्यानमा राखेर भवन निर्माण अघि बढाइएको हो। निर्धारित समयभित्र गुणस्तरीय भवन निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने।

The post लालझाडी गाउँपालिकामा ८ करोड १५ लाखमा ३ तले नयाँ प्रशासकीय भवन बन्दै appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.