September 23, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुरमा मनाइयो राष्ट्रिय संरक्षण दिवस, प्रकृति र वन्यजन्तु बचाउन साझा दायित्वमा जोड

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-५, गुलरियास्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा ‘प्रकृति जोगाऔँ, भविष्य बचाऔँ’ भन्ने मूल नाराका साथ राष्ट्रिय संरक्षण दिवस विशेष रूपमा मनाइएको छ। निडस नेपालको मुख्य आयोजना तथा विभिन्न सामुदायिक वनको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वन, वन्यजन्तु, जैविक विविधता र वातावरण संरक्षणलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ।

​कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सीएफसीसी कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले प्रकृति संरक्षण कुनै एक व्यक्ति वा सरकारको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले हाम्रा धार्मिक तथा सांस्कृतिक परम्पराहरू पनि प्रकृतिसँग नजिकबाट जोडिएको बताउँदै, रुख-बिरुवादेखि लिएर साना कीरा-फट्याङ्ग्रासम्मको अस्तित्व पारिस्थितिक सन्तुलनका लागि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै, सामुदायिक वनमा सुशासन कायम राख्दै बाघ र हात्ती जस्ता वन्यजन्तुबाट हुन सक्ने जोखिमको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

​विशिष्ट अतिथि तथा कृष्णपुर ४ का वडा अध्यक्ष धर्म सिंहले जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका नयाँ चुनौतीहरूको सामना गर्न हिमाली क्षेत्रका हिमताल, वन र जलस्रोतको संरक्षण अनिवार्य भइसकेको औंल्याउनुभयो। उहाँले जैविक विविधताको संरक्षण र विकास निर्माणका कार्यहरूलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। कार्यक्रममा अन्य वक्ताहरूले पनि संरक्षणसम्बन्धी चेतनालाई केवल औपचारिकतामा सीमित नराखी दैनिक जीवन र व्यवहारमा उतार्नुपर्ने तथा यसका लागि स्थानीय समुदाय, सरकार र युवा पुस्ताबीच बलियो सहकार्य हुनुपर्ने विचार व्यक्त गरेका थिए। कार्यक्रमका सभापति तथा हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठाराको धन्यवाद ज्ञापनसँगै प्रकृति र भविष्य जोगाउने साझा संकल्पका साथ कार्यक्रम सम्पन्न भयो।

The post कृष्णपुरमा मनाइयो राष्ट्रिय संरक्षण दिवस, प्रकृति र वन्यजन्तु बचाउन साझा दायित्वमा जोड appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.