खराब मौसमका कारण धनगढी–काठमाडौं बस सेवा अनिश्चितकालका लागि स्थगित
धनगढी । खराब तथा प्रतिकूल मौसमका कारण धनगढी–काठमाडौं रुटमा सञ्चालन हुँदै आएका बस सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै मौसममा सुधार नआएसम्म राजधानीतर्फ जाने बस सञ्चालन नगर्ने निर्णय गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का कार्यालय प्रमुख देवीलाल जोशीले जानकारी दिए।
जोशीका अनुसार कैलालीमा रहेका विभिन्न यातायात प्रा.लि.का काठमाडौं जाने बसहरू हाल सञ्चालनमा आएका छैनन्। काठमाडौं बाट धनगढी, बझाङ र बाजुरातर्फ आउने बसहरू समेत नआएको कारण यताबाट पनि बस नपठाइएको उनले बताए।
यद्यपि, जिल्ला प्रशासन कार्यालय कैलालीले भने यससम्बन्धी औपचारिक सूचना जारी गरिनसकेको बुझिएको छ। यातायात व्यवसायीहरूले मौसम तथा सडकको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि तत्काल बस सेवा रोकिएको बताएका छन्।
मौसम अनुकूल भएपछि अवस्था हेरेर बस सेवा पुनः सञ्चालन गरिने यातायात व्यवसायीहरूले बताएका छन्।
The post खराब मौसमका कारण धनगढी–काठमाडौं बस सेवा अनिश्चितकालका लागि स्थगित appeared first on ✍️कञ्चन मिडिया📸.
