November 7, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

१ लाख ५० हजार पुरस्कारसहित कञ्जमा ‘पाँचौं लालझाडी अध्यक्ष कप फुटबल’ आरम्भ’

लालझाडी: कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा श्री अमर ज्योति युवा क्लबको आयोजनामा पाँचौँ लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८३ भव्य रूपमा सुरु भएको छ। स्थानीयस्तरमा फुटबलको प्रवर्द्धन गर्ने, नयाँ प्रतिभाहरू उजागर गर्ने र खेलकुद क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगितामा विभिन्न ठाउँका गरी कुल २२ वटा टोलीहरू प्रतिस्पर्धा गर्दैछन्, जसले गर्दा प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने देखिएको छ।

​उद्घाटन समारोहको अध्यक्षता खेलकुद संयोजक हिलेन्द्र रानाले गर्नुभएको थियो भने लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौरा, वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापा तथा वडा नं. २ का अध्यक्ष आशाराम राना विशिष्ट अतिथिको रूपमा रहनुभएको उक्त कार्यक्रममा क्लबका सचिव नीर सिंह रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक ओमप्रकाश रानाले गर्नुभएको थियो।

​आयोजकका अनुसार यस प्रतियोगितामा विजेता बन्ने टिमले नगद १ लाख ५० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद १ लाख ५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्नुका साथै खेलप्रेमीहरूबीच आपसी भाइचारा, सद्भाव र एकता बढाउन यो प्रतियोगिता फलदायी हुनेछ।

पछिल्लो समय फुटबलप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा सुरु भएको यस प्रतियोगिताले समग्र गाउँपालिकाको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

The post १ लाख ५० हजार पुरस्कारसहित कञ्जमा ‘पाँचौं लालझाडी अध्यक्ष कप फुटबल’ आरम्भ’ appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.