SEE नतिजाअन्तर्गत कञ्चनपुरका पाँच सस्थागत विद्यालयका ६ विद्यार्थीले ल्याए 4 जिपिए
कञ्चनपुर : माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८२ मा कञ्चनपुरका आधाभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट एसइई परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमिततर्फ ५१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्यांकअनुसार आठ हजार २४५ नियमित विद्यार्थीतर्फ चार हजार २३२ विद्यार्थी उत्तीर्ण भएका छन भने चार हजार १३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
११३ सामुदायिक र ११० निजी विद्यालय गरेर २२३ विद्यालयमध्ये पाँच निजी विद्यालयका ६ विद्यार्थीले मात्रै चार जिपिए ल्याएका छन् । भीमदत्त नगरपालिकाका चार र कृष्णपुर नगरपालिकाकाे एक निजी विद्यालयका ६ विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।
भीमदत्त नगरपालिका– ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका छात्रद्वय संगम जोशी, अनमोल चन्द, भीमदत्त नगरकै आदर्श विद्या निकेतनका नितेश जोशी, डाइमन्ड एकेडेमी गड्डाचौकीकी छात्रा अस्था श्रेष्ठ, युनाइटेड पब्लिक स्कुल महेन्द्रनगरका समृद्धि ऐर र कृष्णपुर नगरको नवयुग बाल विद्याका एलिसा साउद रहेका छन् । कञ्चनपुरमा ०८० मा २, ०८१ मा शून्य र ०८२ मा दुई छात्रा, चार छात्र गरेर ६ विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।
०८२ मा नियमित आठ हजार २४५, एक्ज्यामटेड दुई हजार ४२९ र पार्सियल ६८ विद्यार्थी एसइईमा सहभागी भएका थिए । छात्रा चार हजार १४२ र छात्र चार हजार ८३ नियमित विद्यार्थीले परीक्षा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले विगतका वर्षहरुको तुलनामा नतिजा सुधारोन्मुख भएको बताए ।
उनका अनुसार गत वर्षभन्दा यस वर्ष ४ प्रतिशतले नतिजा सुधार भएको छ । ‘गत विगतका वर्षहरूभन्दा ०८२ मा नतिजामा सुधार आएको छ,’ उनले भने, ‘यसमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालयदेखिका सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण छ, अझै नतिजा सुधारका लागि अझै मिहिनेत गर्नुपर्ने देखियो ।’ (मोहन बिस्ट, नयाँ पत्रीका)
The post SEE नतिजाअन्तर्गत कञ्चनपुरका पाँच सस्थागत विद्यालयका ६ विद्यार्थीले ल्याए 4 जिपिए appeared first on .